रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा खेलकुदको माध्यमबाट स्थानीय प्रतिभाको पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘शीतल चौरजहारी बी–६७ कप खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। पश्चिम क्षेत्रको पहाडी भूगोलमा आयोजना हुन लागेको प्रतियोगितालाई व्यवस्थित, प्रतिस्पर्धात्मक र स्मरणीय बनाउने गरी आयोजकले तयारी तीव्र पारेको जनाएको छ। प्रतियोगितामा खुला नकआउट फुटबल र खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिनेछ।

आयोजकका अनुसार प्रतियोगितालाई विगतका प्रतियोगिता भन्दा फरक, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यसहित आवश्यक तयारी अघि बढाइएको छ। प्रतियोगिताको थप आकर्षणका रूपमा एन्फा राष्ट्रिय रेफ्रीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। यसले प्रतियोगितामा रेफ्री व्यवस्थापन तथा खेल सञ्चालनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। त्यस्तै फुटबल प्रतियोगिताका खेलहरूलाई गोल नेपालबाट प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत भइरहेको आयोजकले जनाएको छ। स्थानीय स्तरमा आयोजना हुने प्रतियोगितालाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने तथा खेलाडी र खेलप्रेमीको उत्साह बढाउने उद्देश्यले प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न लागिएको हो।

फुटबलतर्फ आकर्षक पुरस्कार

खुला नकआउट फुटबल प्रतियोगितामा विजेता टिमले रु. २ लाख ३० हजार १६७ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमलाई रु. १ लाख ३० हजार १६७ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि रु. १५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ। त्यस्तै, खुला ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुनेलाई रु. २५ हजार, द्वितीय हुनेलाई रु. १५ हजार तथा सेमिफाइनल पुग्ने खेलाडी/टिमलाई रु. ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। ब्याडमिन्टनतर्फको दर्ता शुल्क रु. २ हजार तोकिएको छ।

असोज ११ गतेदेखि फुटबल, १३ गतेदेखि ब्याडमिन्टन

आयोजकका अनुसार प्रतियोगिताका लागि २०८३ असोज  २५ गतेदेखि  कार्तिक १० गतेसम्म टिम दर्ता गर्न सकिनेछ। फुटबल प्रतियोगिता २०८३ कार्तिक ११ गतेदेखि र ब्याडमिन्टन प्रतियोगिता २०८३ कार्तिक १३ गतेदेखि सुरु हुनेछ। प्रतियोगितामा विभिन्न क्षेत्रका खेलाडी तथा टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समुहका बिक्रम विष्टले जानकारी दिनुभयो ।

आयोजक शीतल चौरजहारी बी–६७, रुकुम पश्चिम ले प्रतियोगितालाई सफल बनाउन खेलाडी, टिम, खेलप्रेमी, स्थानीयवासी तथा सम्बन्धित सबै पक्षको सहयोग र सहभागिताको अपेक्षा गरेको छ। खेलकुदमार्फत चौरजहारीको पहिचानलाई थप फराकिलो बनाउँदै स्थानीय स्तरमा खेलकुदको वातावरण निर्माण गर्न प्रतियोगिता महत्वपूर्ण हुने आयोजकको विश्वास छ।