सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार सम्पन्न कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा रुकुम पश्चिम तेस्रो भएको छ । ६ स्वर्ण पदक सहित रुकुम पश्चिम तेस्रो भएको सामाजिक विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत ध्रुवकुमार बाँठाका अनुसार रुकुम पश्चिमले ६ स्वर्ण सहित, ७ रजत र १५ कांस्य पदक गरी कुल २७ पदक हासिल गरेको छ ।

रुकुम पश्चिमले एथलेटिक्समा ३, तेक्वान्दोमा २ र करातेमा १ स्वर्ण पदक जितेको उहाँले बताउनुभयो । आशा गरिएको छात्र भलिबलमा भने रुकुम पश्चिम दोस्रोमा सीमित भयो भने छात्रा भलिबलमा तेस्रो भयो । यसैबिच जिल्लाका १६ जना खेलाडी राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा कर्णाली प्रदेशका लागि छनोट भएका छन् । छनोट हुनेमा सबैभन्दा बढी भलिबलका पुष्प खनाल, रब्शन महर, जय परियार, हरिमाया ओली, धनमाया नाथ, कल्पना केसी रहेको प्रशासकीय अधिकृत बाँठाले जानकारी गराउनुभयो ।

 

त्यस्तै अन्यमा कबड्डीका वसन्त केसी, दीपा घर्तीमगर, कविता वोहरा, तेक्वान्दोका लालबहादुर परियार, दीपक बुढा, करातेका गणेश केसी, सटफुटका अनन्त विक, हाइजम्पका अंगिता विक, धनराज केसी र ज्याभलिङ थ्रोका सुशान्त नेपाली रहेको उहाँले बताउनुभयो ।   ३८ स्वर्ण पदक सहित सुर्खेतले शिल्ड जित्दा ७ स्वर्ण सहित कालिकोट तेस्रो भएको छ ।