रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारेमा जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् । शुक्रबार जिल्ला सदरमुकाम खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जीप आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनले दुर्घटनामा परेर ८ जनाको घटनास्थलमै ज्यान गएको जानकारी प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार घाईतेहरुको उद्धार कार्य भईरहेको छ । केहि घाईतेहरुको अवस्था गम्भिर रहेको छ । मृतकको संख्या बढ्न सक्ने जनाईएको छ । दुर्घटनाको सूचना लगतै नदुवास्थित प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेर उद्धारमा सक्रिय रहेको छ । प्रहरीका अनुसार जीपमा क्षमता भन्दा बढी यात्रुहरु रहेकोले दुर्घटना भएको हुनसक्ने आँकलन गरिएको छ । जीपमा करिब १८ जना यात्रुहरु रहेको बुझिएको छ ।









