रुकुम पश्चिमको चौरजहारीमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताकोआम्दानी  र खर्च विवरण सार्वजनिक गरिएको छ ।  प्रतियोगिताका व्यवस्थापक तिलक लामिछानेका अनुसार कुल आय ६ लाख २ हजार ४ सय ६५ रुपियाँ भएकोमा२ लाख ८२ हजार ९५ रुपियाँ खर्च भएको छ । आयोजक संस्थामा ३ लाख २० हजार ४ सय ६ रुपियाँ बचत रहेको र उक्त रकम सामाजिक काममा खर्च गर्ने निर्णय भएको लामिछानेले जानकारी दिनुभयो ।

शीतल चौरजहारी बि ६७ ले गत असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन गरेको फुटबल प्रतियोगिताको आम्दानी र खर्च मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । खेलकुद प्रतियोगिताको रकम सार्वजनिक र बचत गरेको विवरण नमूनायोग्य काम भएको बताईएको छ ।  विभिन्न व्यक्ति तथा निकायको सहयोगमा प्रतियोगिता सम्पन्न गरेको आयोजक संस्थाका अध्यक्ष तेज कुमार बिष्टको भनाइ छ । पुरस्कार, खेल तथा रेफ्रि व्यवस्थान, स्टेज तथा खेलमैदान व्यवस्थापन लगायतका शिर्षकमा रकम खर्च भएको बताईएको छ । प्रतियोगितमा १६ वटा समुहले भाग लिएका थिए । प्रतियोगिताको विजेता टिम केएफसी जाजरकोट बनेको थियो भने उपविजेता चौरजहारीस्थित नाखिरा युवा क्लब बनेको थियो ।

चौरजहारीस्थित शीतल माध्यमिक विद्यालयबाट २०६७ सालमा एसएलसी दिएका विद्यार्थीहरुको समुहले उक्त संस्था दर्ता गरेको हो । सामाजिक रुपान्तरणका लागि युवा भन्ने मुख्य नाराका साथ विभिन्न सामाजिक र परोपकारी कार्य गर्ने उद्धेश्यले उक्त संस्था स्थापना भएको हो । यो समुहले यस अघि बिरामी, असाहय, टुहुरा लगायत समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको छ भने मानविय सेवाको रुपमा रक्तदान लगायतका कार्य गरेको छ ।

आर्थिक विवरण सार्वजनिक कार्यक्रममा चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकाल, वडा नम्वर १ का वडा अध्यक्ष ईन्द्रे गिरी, नेपाली कांग्रेसका जिल्ला सदस्य एवम् संगठन विभाग प्रमुख यदुकुमार आचार्य, नेकपा एमालेका नेता जनक लामिछाने, नेकपा माओवादी केन्द्रका नारायण प्रसाद खनाल, नेपाल रेडक्रस सोसाइटी चौरजहारीका सभापति तेजबहादुर बटाला लगायतको सहभागिता रहेको थियो ।