नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा कार्यरत गंगा दाहालले राजीनामा दिएकी छन्। प्रचण्डकी छोरीसमेत रहेकी गंगाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत राजीनामाको जानकारी सार्वजनिक गर्दै पछिल्लो समय आफूमाथि भइरहेको कुप्रचार, भ्रामक समाचार र नियोजित आक्रमणप्रति गम्भीर असन्तुष्टि पनि जनाएकी छन्।
प्रकाश दाहालको निधनपछि गंगा दाहालले सचिवालयको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। पछिल्लो समयमा आफूलाई प्रयोग गरेर प्रचण्ड र माओवादी केन्द्रविरुद्ध योजनाबद्ध रूपमा आक्रमण भइरहेको भन्दै उनले राजीनामा दिएको स्पष्ट पारिन् । ‘मलाई देखाएर माओवादी केन्द्रका संयोजक प्रचण्ड र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारण यस्तो अवस्थामा सचिवालयको जिम्मेवारीबाट बाहिरिनु नै बुवा, पार्टी र आन्दोलनको हितमा हुनेछ भन्ने निष्कर्षमा पुगेकी छु,’ गंगाले लेखेकी छन्।
सचिवालयबाट बाहिरिए पनि आजीवन पार्टीमा क्रियाशील रहने प्रतिबद्धता जनाउँदै उनले पार्टीका नेता, कार्यकर्ता र आम जनसमुदायबाट प्राप्त साथ र समर्थनप्रति आभार व्यक्त गरेकी छन्। अन्त्यमा, उनले दीपावली, छठ र नेपाल संवतका अवसरमा सम्पूर्णलाई शुभकामना दिएकी छन्।









