रुकुम पश्चिमको चौरजहारीमा रहेको शीतल क्याम्पसमा अध्ययनरत बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्तिको लागि एक लाख रुपैयाँ प्रदान गरिएको छ ।  चौरजहारी नगरपालिका वडा नम्वर ५ निवासी स्व. कस्तुरा ढकालको १४ औं स्मृति दिवसको अवसरमा उहाँका छोराहरुले बिद्यार्थीहरुलाई छात्रबृत्तिको व्यवस्था गर्नुभएको हो ।  आज क्याम्पसमा आयोजित एक कार्यक्रमका बिच क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर खड्का र क्याम्पस प्रमुख रमेश लामिछानेलाई स्व. ढकालका छोराहरु विशाल शर्मा र गोपाल शर्माले एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो। विशाल चौरजहारी नगरपालिकाका पूर्व नगर प्रमुख एवम् समाजसेवी हुनुहुन्छ । गोपाल शर्मा कर्णाली प्रदेशको पूर्व आर्थिक मामिला तथा योजना मन्त्री  समेत हुनुहुन्छ ।

उक्त रकम क्याम्पसमा अध्ययनरत गरिब तथा जेहेन्दार बिद्यार्थी छनौट गरेर प्रदान गरिने क्याम्पस प्रमुख रमेश लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार क्याम्पसले चाँडै नै बिद्यार्थी छनौट गरेर छात्रबृत्ति प्रदान गर्नेछ ।  स्मृति दिवसको अवसरमा शीतल माध्यामिक विद्यालय चौरजहारीका शिक्षक शेर वहादुर के.सी.ले आमा शिर्षकको कविता वाचन गर्नुभएको थियो ।

स्मृति दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा स्व. ढकालका छोराहरु बिशाल शर्मा,गोपाल शर्मा, चौरजहारी नगरपालिका प्रमुख पुष्प वादी, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर खड्का, क्याम्पस प्रमुख रमेश लामिछाने, शिक्षकहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रममा नगरप्रमुख शर्माले स्वर्गीय आमाले देखाएको सतमार्गमा आफू हिडेको बताउँदै आमा नै भगवान भएको उल्लेख गर्नुभयो ।

स्व. ढकालका चारभाई छोरा र पाँच बहिनी छोरी हुनुहुन्छ । सो परिवारले हरेक वर्ष स्वर्गिय आमाको स्मृति दिवसको अवसरमा सामाजिक कार्यका लागि उदाहरणिय काम गर्दै आउनु भएको छ । चौरजहारी नगरपालिका वडा नम्वर ५ लहरेसिमल निवासी स्वर्गीय ढकालको २०६८ साल श्रावण २९ गते ७२ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।