ड्यालस, अमेरिका
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आगामी कार्यकालका लागि अध्यक्ष पदमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारबीच हुने भनिएको प्रत्यक्ष बहस कार्यक्रम अन्ततः स्थगित भएको छ। पछिल्लो जानकारी अनुसार नेजाको वर्तमान नेतृत्वले बहस कार्यक्रमले संस्था कमजोर देखिने ठहर गर्दै अध्यक्ष पदका आकांक्षीहरूलाई बहस कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको जनाइएको छ। यस निर्देशनपछि आकांक्षीहरू नेतृत्वको दबाबमा नआउने निर्णयमा पुगेपछि रिपोर्टर्स क्लब अमेरिकाले बहस कार्यक्रम स्थगन गर्ने निर्णय लिएको हो। रिपोर्टर्स क्लब अमेरिकाले अप्रिल २६, शनिबारका दिन टेक्सासको इरभिङस्थित भेटघाट रेस्टुरेन्ट बार एण्ड ब्याङ्क्वेटमा बहस कार्यक्रम आयोजना गरेको थियो।
रिपोर्टर्स क्लब अमेरिकाका अध्यक्ष किशन रेग्मीका अनुसार क्लबले उम्मेदवारहरूका प्रतिबद्धता, दृष्टिकोण र योजना आम सदस्यहरूसमक्ष पुर्याउने उद्देश्यले बहस कार्यक्रम आयोजना गर्न चाहेको थियो। अमेरिका भरि छरिएर रहेका नेजाका सदस्यहरूसँग प्रत्यक्ष सम्पर्क कठिन हुने भएकाले यस्तो बहस उपयोगी हुने अपेक्षा गरिएको थियो। तर नेतृत्वकै आग्रहमा उम्मेदवारहरू पछि हटेपछि क्लबले कार्यक्रम नगर्ने निर्णय गर्नुपरेको उनले जानकारी दिए ।
रिपोर्टर्स क्लब अमेरिकाले आयोजना गरेकाो कार्यक्रमका मिडिया पार्टनरहरूमा मालिका न्यूज, घण्टेश्वर अनलाइन, टिखो सञ्चार, ग्लोबल भूटानीज न्यूज, शिलालेख, जनता HD, टोटल खबर, ग्लोबल पोस्टइन्फो र रेडियो जनता USA रहेका थिए। कार्यक्रम नहुने भएपछि बहसको पर्खाइमा रहेका पत्रकार, शुभचिन्तक र नागरिक समाजमा असहजता र निराशा उत्पन्न भएको भन्दै रिपोर्टर्स क्लब अमेरिका क्षमा याचना व्यक्त गरेको छ। क्लबका अध्यक्ष रेग्मीले एक सुचना जारी गर्दै यस्तो बताएका हुन ।