ड्यालस, अमेरिका
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन नजिकिदै गर्दा प्रत्यासीहरुबीच प्रत्यक्ष बहस कार्यक्रम आयोजना गरिने भएको छ। रिपोटर्स क्लब अमेरिकाले आगामी अप्रिल २६ तारिखका दिन ड्यालस–फोर्टवर्थ क्षेत्रमा अध्यक्ष पदका प्रत्यासीहरूलाई एउटै मञ्चमा राखेर बहस गर्न लागेको हो। रिपोटर्स क्लब अमेरिकाका अध्यक्ष किसन रेग्मीका अनुसार उक्त बहस कार्यक्रममा नेजा तथा आप्रवासी पत्रकारितासँग सम्बन्धित विविध विषयहरूमा विचार आदानप्रदान गरिनेछ।
कार्यक्रममा उम्मेदवारहरूले आफ्नो दृष्टिकोण, कार्ययोजना र संघप्रतिको प्रतिबद्धता खुलस्त पार्ने अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी हुन ड्यालस–फोर्टवर्थ क्षेत्रमा क्रियाशील पत्रकारहरू, नेजा सदस्यहरू साथै नेपाली समुदायका अगुवाहरूलाई समेत हार्दिक आमन्त्रण गरिएको छ।
नेजाको आगामी नेतृत्व छान्ने निर्वाचनले उत्तर अमेरिकामा नेपाली पत्रकारिताको दिशा निर्धारण गर्ने विश्वास गरिएको छ। प्रत्यासीहरूलाई समयमै आयोजकसँग सम्पर्क राख्न समेत आग्रह गरिएको छ।