राष्ट्रिय सभा सदस्य तथा ख्यातिप्राप्त कलाकार कोमल वलीले शिक्षा, संस्कार र संस्कृति ला‌इ आत्मसाथ गर्दै अगाडि बढनु पर्ने बताउनु भएको छ । गुरुकुल एकेडेमी तुलसीपुरले बिहिबार आयोजना गरेको प्रथम वार्षिक उत्सवको अबसरमा प्रमुख अतिथि समेत रहनुभएकि वलीले गुरुकुल एकेडेमी तुलसीपुरमा पहिलो पटक अवलोकन गर्ने मौका पाएको र साहि अवसरमा विद्यार्थिहरुको प्रस्तुति हेर्दा अभिभावकहरुले पनि हौसला प्रदान गर्नुपर्ने बताउनुभएको थियो । साथै उहाँले आफ्ना बालबालिकाहरुलाई अनावश्यक रुपमा पढाईको चाप दिन नहुने बताउनुभएको थियो । विद्यार्थिमा जुन क्षमता छ त्यसैमा अभिबृद्धि गर्दै लैजानुपर्ने बताउनुभएको थियो । ‘आजको युगमा शिक्षा मात्र महत्वपूर्ण छैन, संस्कृतिका संरक्षण र संवर्धनमा पनि हाम्रो कर्तव्य महत्त्वपूर्ण छ,’ उहाँले आफ्नो सम्बोधनमा भन्नुभयो ।

प्रमुख अतिथि वलीले शिक्षामा निजि क्षेत्रबाट सञ्चालित विद्यालयले गरिरहेको शैक्षणिक कार्यले सफलता प्राप्त गर्दै गएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानका साथै संस्कार र संस्कृर्तिमा जोड दिएपनि पर्याप्त नहुने भन्दै अभिभावकको साथ र सहयोग पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो ।

गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले एउटा बालकलाई पुर्ण मानव बनाउने जुन लक्ष्य अनुसार संचालनमा ल्याइएको हो सोही लक्ष्य पुरा गर्ने गरी शिक्षासंगै संस्कार र संस्कृर्तिमा जोड दिएर अध्यापन गरिरहेकोे बताउनुभयो । विद्यालयमा अहिले कक्षा ९ सम्म पठनपाठन भैरहेको र आगामी शैक्षिक शत्रबाट कक्षा १० समेत सञ्चालन हुने प्रधानाध्यापक गिरीले जानकारी दिनुभयो ।  तुलसीपुर–६ रजौरामा रहेको विद्यालयले पहिलो वार्षिकोत्सव आज एक भब्य समारोहका बिच मनाएको हो । विद्यालय संयोजक चिन्तना धितालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षकहरु बासुदेब योगी,श्रृजना बोहोरा तथा विद्यार्थीहरु मार्शल वली र सिमरण सुनारले गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा विद्यार्थी सहित गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डाक्टर कृष्णराज डिसी,एन प्याव्सन दाङका अध्यक्ष भोजराज न्यौपाने ,जेष्ठ नागरीक समुह दाङका सदस्य ललित बहादुर वली लगायतले विद्यालयले छोटो समयमै शिक्षाका क्षेत्रमा राम्रो प्रगति गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।  कार्यक्रममा विद्यार्थीहरुले विभिन्न पौराणिक नृत्य, विज्ञान प्रदर्शनी, नाटक,गित,लगायत विभिन्न कला प्रस्तुत गरेका थिए ।