कर्णाली प्रदेश सरकारले ३१ अर्ब ४१ करोड ४१ हजार रूपैयाँको बजेट ल्याएको छ । प्रदेश सभामा शनिबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गरेका हुन् । चालु खर्चतर्फ ७ अर्ब ५७ करोड ५५ लाख रूपैयाँ र पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

मन्त्री महेन्द्र केसीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि १० अर्ब ४६ करोड विनियोजन गरिएको बताए । यस्तै सामाजिक विकास मन्त्रालयका लागि ५ अर्ब ७२ करोड विनियोजन गरिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका लागि २ अर्ब ८६ करोड रकम विनियोजन गरिएको छ ।

 

कानून मन्त्रालयलाई आगामी वर्षका लागि २९ करोड ६४ लाख विनियोजन गरिएको छ । कर्णाली सरकारले भूमि, व्यवस्था, कृषि मन्त्रालयका लागि १ अर्ब ८६ करोड बजेट विनियोजन गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब ९४ करोड विनियोजन गरिएको जनाएको छ ।

कर्णाली प्रदेश सरकारले सडक पुलका लागि ६८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिला कर्णाली प्रदेशका विभिन्न सडकमा रहेका पुलका लागि ६८ करोड बजेट विनियोजन गरिएको छ । यस्तै प्रदेशभर आगामि आर्थिक वर्षका लागि नयाँ ९० वटा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । साथै प्रदेशभर रहेका पुराना झोलुङ्गे पुलको अध्ययन तथा मर्मतका लागि २० करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।