नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको छ । बिहीबार दिउँसोदेखि इन्टरनेटमा समस्या देखिएको हो । वर्ल्डलिंक, भायनेट, सुबिसुलगायत इन्टरनेट सेवा प्रदायकको इन्टरनेट ‘स्लो’ हुने, चल्दै नचल्ने समस्या देखिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायकले ब्यान्डविथ आयात गरेबापत भारतीय कम्पनीलाई तिर्नुपर्ने रकम तिर्न सिफारिस गरिएको छैन । यसो हुँदा उनीहरूले भारतीय कम्पनीलाई भुक्तानी गर्न सकेका छैनन् । सरकारलाई बक्यौता नतिरेको भन्दै सञ्चार मन्त्रालयले विदेशी मुद्रा सिफारिस नगरिदिएको हो । सेवा प्रदायकहरूले आफूहरूले बक्यौता तिर्न बाँकी नरहेको दाबी गर्दै आएका छन् । यस्तोमा सरकारले भुक्तानी गर्न नदिँदा इन्टरनेट बन्द हुनसक्ने चेतावनी उनीहरूले दिएका थिए ।
अहिले विदेशी कम्पनीहरूले नै ब्यान्डविथ दिन रोक लगाएर इन्टरनेट बन्द भएको हो कि भन्ने आशंका समेत हुन थालेको छ । यद्यपि, कारण पुष्टि हुन सकेको छैन ।