गुरुकुल एकेडेमीले  विद्यार्थी तथा शिक्षकहरु बाट सांस्कृतिक झल्काउने पोशाकसहित विद्यालयको पठनपाठन सञ्चालन गरेको छ । गुरुकुल एकेडेमी घोराही, लमही र तुलसीपुरले सम्पूर्ण जातजातिका सांस्कृतिक पोशाकसहित शैक्षिक सत्र २०८१ को पहिलो बैशाख ९ गते आइतवार बाट विद्यालय सञ्चालन गरेको हो । आफ्नो संस्कार जोगाउनको लागि गुरुकुल एकेडेमीले विगत २ वर्षदेखि सांस्कृतिक पोशाक विद्यालय समयमा पनि नियमित प्रयोग गर्दै आएको छ ।

शिक्षा, संस्कार र संस्कृतिको त्रिवेणी भन्ने मूल नारालाई आत्मसात गर्दै गुरुकुल एकेडेमीले नियमित रुपमा सबै जातजातिका पोशाक झल्काउँदै यो कार्यक्रम गर्दै आइरहेको छ । हरेक महिनाको पहिलो दिन विद्यार्थी तथा शिक्षकले आफ्नो जातीय पोशाक लगाउने गर्दछन । यो कार्यक्रमले सम्पूर्ण विद्यार्थीहरू माझ आफ्नो जातीय पोशाक कुन हो, कसरी प्रयोग गर्ने भन्ने  जानकारी पाउने र आफ्नो संस्कार जोगाउन सकिने भएका कारण कार्यक्रमको आयोजना गरिएको गुरुकुल एकेडेमीले जनाएको छ ।

कार्यक्रममा थारू, मगर, नेवार, गुरुङ, क्षेत्रीलगायतका पोशाकहरू लगाइएको थियो । यसै बिच गुरुकुल एकेडेमीले नव नियुक्त शिक्षकहरूलाई स्वागत गरेको छ । नव नियुक्त संस्कार प्रमुख भूगोल कवर मगर, अंग्रेजी शिक्षक राजन अधिकारी, सामाजिक शिक्षक लालमणि पोख्रेल र सुनिता बमलाई स्वागत गरिएको विद्यालयका प्रवक्ता तथा शिक्षक विवेक देवकोटाले जानकारी दिए ।