रुसी सेनामा भर्ती भएका थप सात जना नेपाली मारिएका छन् । परराष्ट्र मन्त्रालयले आज (बिहीबार) विज्ञप्ति जारी गरेर रुसी सेनामा भर्ना भएका थप सात नेपालीको मृत्यु भएको जानकारी गराएको हो ।

मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ

रुसी सेनामा ज्यान गुमाएका नेपालीको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध गरिएको सरकारले बताएको छ ।

यसअघि १२ जना नेपाली नागरिकको मृत्यु भएको सार्वजनिक भएको थियो। यससँगै रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने नेपालीको संख्या १९ पुगेको छ ।