कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अन्तर्गत अहिले जापान र क्रोएसियाबीच प्रतिस्पर्धा भईरहेको छ । अल जानुब स्टेडियममा जारी जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा गएको छ ।

निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने जापानले बनाएको थियो ।

खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई १-० को अग्रता दिलाएका थिए । योशिदाको पासमा उनले गोल गरेका हुन् । तर, दोस्रो हाफमा क्रोएसिया खेलमा फर्किएको थियो । खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए । उनले डेजोन लेभ्रोनको पासमा उत्कृष्ट गोल गरे ।

साबिक उपविजेता क्रोएसिया आज जापानलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाउने योजनामा रहेको छ । क्रोएसिया तेस्रो पटक क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । यता, जापान पनि क्रोएसियालाई हराएर क्वाटरफाइनलमा स्थान बनाउने योजनामा रहेको छ । जापान पहिलो पटक क्वाटरफाइनलमा पुग्न चाहन्छ । जापान तेस्रो पटक नकआउट चरणमा प्रवेश गरेपनि क्वाटरफाइनलमा पुग्न सकेको छैन ।