चौरजहारी नगरपालिकाको मेलैनाउँलीमा पहिलो पटक तिहार विशेष मेलाको अवसरमा विविध खेलकुद प्रतियोगिताको आयोजना गरिने भएको छ । स्थानीय व्यापारी तथा यूवाहरुको सक्रियतामा वडा नम्वर ७ मेलैनाउँलीमा पहिलो पटक तिहार विशेष मेलाको आयोजना गरी विविध खेलकुद प्रतियोगिता संचालन गर्न लागिएको हो ।मेलाको अवसरमा खुल्ला वडा स्तरिय पुरुष भलिवल, दैउसीभैलो प्रदर्शन प्रतियोगिताको आयोजना गरिएको मेला आयोजक समितिका अध्यक्ष सुजल जैसीले जानकारी दिनुभयो । दर्ताशुल्क ५ हजार ५ सय रहेको खुल्ला वडा स्तरिय भलिवल प्रतियोगितामा प्रथम, दितिय र सान्त्वना  प्राप्त गर्ने समुहले  ६० हजार, ३० हजार र १० हजार नगद राशी सहित मेडल र प्रमाण पत्र प्रदान गरिने समितिका अध्यक्ष जैसीले वताउनुभयो ।

त्यस्तै देउसीभैलो प्रदर्शनका लागि दर्ताशुल्क ५ सय रहेकोमा प्रथम, दितिय र तृतीय समुहलाई क्रमश ७ हजार, ५ हजार र २ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिने वताईएको छ । खेल नकावट प्रणाली खेलाईने, खेलाडीहरुले अनिवार्य खेल पोषाक लगाउनुपर्ने, परिचय खुल्ने परिचय पत्र अनिवार्य साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ । २०८२ कात्तिक २ गतेदेखि ७ गते सम्म दर्ता समय र कात्तिक ८ गतेदेखि सुरुभएको प्रतियोगिता कात्तिक ११ गते समापन गरिने आयोजकले जनाएको छ ।