निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी खटिने भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ ।उक्त निर्वाचनका लागि जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई यही चैत २९ देखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने सूचनामा उल्लेख छ ।

आइतबार बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको सुचिमा रुकुम पश्चिमका जिल्ला न्यायाधीस विद्याराज पौडेललाई जिल्लाको मुसिकोट नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको रुपमा खटाइएको छ ।

यस्तै जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमका जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेललाई चौरजहारी नगरपालिकामा निर्वाचन अधिकृतको जिम्मेवारीमा खटाइएको छ भने आठबिसकोट नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत गणेशकुमार गौतमलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिईएको छ ।

बाँफिकोट गाउँपालिकामा जिल्ला अदालत रुकुम पश्चिमका स्रेस्तेदार कृतबहादुर बोहोरा, सानीभेरी गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवल, रुपन्देहीका उपसचिव कमान सिं थापा मगर र त्रिवेणी गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत कृतिबहादुर बस्नेतलाई निर्वाचन अधिकृतका रुपमा खटाइएको छ ।