रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेपाली काँग्रेस पार्टीका कार्यकर्ताले नगर शिक्षा, युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख टीकाजंग ओलीलाई ज्यान मार्ने धम्कि दिएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेराकस) रुकुम पश्चिम चौरजहारीले सुरक्षाको माग गरेको छ । कांग्रेस कार्यकर्ता गणेश डाँगी लगायतका जिल्ला तथा नगर स्तरका कार्यकर्ताहरुले ओलीलाई जहाँ भेट्यो त्यहीँ हात खुट्टा काट्ने र ज्यान मार्ने धम्की दिएको भन्दै नराकसले सुरक्षाको माग गरेको हो ।

साथै नगरपालिकाका अन्य शाखा, उपशाखामा कार्यरत कर्मचारीलाई समेत गालीगलौज तथा अनावश्यक लान्छना लगाएको संगठनले आज एक प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ । नगरपालिकाको वडा नम्बर ७ को मेलैनाउली बजारमा भदौ २० गते युवाहरुको विचमा भएको झगडाको विषयलाई लिएर आफुलाई नेपाली कांग्रेस भन्ने केही व्यक्तिहरुले चौरजहारी नगरपालिकाको कार्यालय परिषरमा गरेको कोणसभामा कांग्रेस कार्यकर्ता डाँगी लगायतले निमित्त शाखा प्रमुख ओली सहित अन्य कर्मचारीहरुलाई पनि धम्क्याएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै आज विभिन्न वडा कार्यालयका कर्मचारीहरुलाई काम गरिरहेको समयमा कार्यकक्षमा थुनेको भन्दै उक्त घटनाप्रति संगठनको गम्भिर ध्यानकर्षण भएको संगठनका नगर संयोजक डण्डप्रसाद शर्माले जारी गरेको विज्ञप्तीमा जनाईएको छ । संगठनले भयरहित वातावरणमा काम गर्ने अवस्था सृजना गर्न र जिउ ज्यानको सुरक्षाका लागि सम्बन्धित निकाय समक्ष माग गरेको छ । साथै लामो समय देखि पठन पाठन बन्द भएको र अहिले केही दिनदेखि खुलेका विद्यालयमा बन्द हड्ताल नगर्न पनि उसले सबैलाई अनुरोध समेत गरेको छ ।