अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीलाई आग्रह गर्नु भएको छ ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४औं स्थापना दिवसका अवसरमा मन्त्री शर्माले यस्तो आग्रह गर्नु भयो । बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको भन्दै मन्त्री शर्माले  भन्नु भयो, ‘तपाईहरुको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।’

उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरुहरुलाई आग्रह समेत गर्नु भयो । ‘तपाईहरुका कुनै समस्या छन र मैले निर्णय गरेर हुन्छ भने त्यसको लागि म तयार छु,’ मन्त्री शर्माले थपनु भयो कम्तिमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउन समेत आहृवान गर्दछु ।

 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ४ हजार प्रारम्भिक संस्थाहरु तथा प्रदेश र जिल्ला बचत संघहरुमार्फत ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेका छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरुमा ३४ लाख व्यक्तिगत सदस्यहरु आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।