निर्वाचन आयोगले प्रदेशसभामा भएको दल विभाजनको विवरण शुक्रबार (आज) सार्वजनिक गर्ने तयारी गरेको छ । एमाले छाडेर  माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका प्रदेश सांसदहरुको विवरण आज सार्वजनिक हुने आयोगले जनाएको छ । त्यस्तै, जनता समाजवादी पार्टी(जसपा) छाडेर लोकतान्त्रिक समाजवादी (लोसपा) मा लागेका प्रदेश सांसदहरुको विवरण  पनि सार्वजनिक गर्ने आयोगको तयारी छ ।

‘आज बस्ने आयोगको बैठकले प्रदेश सभामा दल–बदल गर्नेहरुको नामावलीलाई अन्तिम रुप दिनेछ,’ निर्वाचन आयोग स्रोतले  भन्यो, ‘स्थानीय तहको भने कतिपय दुर्गम हिमाली जिल्लाबाट विवरण आउन बाँकी छ, त्यो पनि चाँडै सार्वजनिक गर्छौं ।’राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले र जसपा पार्टी परिवर्तन गरेर नयाँ दलमा लाग्न चाहने प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन आयोगले भदौ २२ गतेसम्म सनाखत गर्न म्याद दिएको थियो ।भदौ २२ सम्म सनाखत गर्नेहरुको नामावली प्राप्त भएपछि शुक्रबार बस्ने आयोगको बैठकले त्यसलाई अन्तिम रुप दिन लागेको हो ।

 

सोमबारभित्र स्थानीय तहका जनप्रतिनिधिहरुको पनि विवरण सार्वजनिक हुने आयोग स्रोतले बतायो ।