कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रभावशाली नेता राजकुमार शर्माको प्रदेशसभा सदस्य पद रिक्त भएको छ। नेपाली कम्युनिस्ट पार्टीले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि कर्णाली प्रदेशसभा सचिवालयले बुधबार एक सूचना जारी गर्दै उनको पद रिक्त भएको औपचारिक जानकारी दिएको हो।
नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेशसभा संसदीय दलको कार्यालय, सुर्खेतले गत माघ २८ गते शर्मालाई पार्टीबाट निष्कासन गरिएको पत्र सचिवालयमा दर्ता गराएको थियो। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१) बमोजिम उनलाई पार्टीले कारबाही गरेपछि सोको जानकारी सचिवालयलाई गराइएको हो।
पार्टीका केन्द्रीय सदस्य तथा संसदीय दलका सदस्यसमेत रहेका शर्मामाथि पार्टी अनुशासन र नीति विपरीत कार्य गरेको आरोपमा कारबाही गरिएको बुझिएको छ। सचिवालयले जारी गरेको सूचना अनुसार राजनीतिक दल सम्बन्धी ऐनको दफा ३५ को उपदफा (१) बमोजिम यस्तो सूचना प्राप्त भएपछि सभामुखले १५ दिनभित्र सभालाई जानकारी गराउनुपर्ने प्रावधान छ।
तर, हाल कर्णाली प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएकाले सभामुखको निर्देशनमा सचिवालयको सूचना पाटीमा यो जानकारी टाँस गरिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन्। ऐनको व्यवस्था अनुसार सभाको अधिवेशन सञ्चालनमा नरहेको अवस्थामा सूचना पाटीमा टाँस गरेपछि सो पद रिक्त भएको मानिन्छ।
कर्णाली प्रदेशसभा नियमावली, २०५१ को नियम २ को खण्ड (म) को उपखण्ड (८) बमोजिम यो सूचना सार्वजनिक गरिएको हो।
#रातोपाटीबाट साभार #Ratopationline










