रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भएको अटो दुर्घटनामा परेर घाईते हुनुभएका सिनियर अहेब नरबहादुर खत्रीको उपचारको क्रममा निधन भएको छ ।  सानीभेरी गाउँपालिकाको  वडा नम्बर ६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र खेतमा सिनियर अहेब पदमा कार्यरत ४३ वर्षीय खत्री गत चैत ११ गते वडा नम्वर ३ को बेलटापु नजिकै भएको अटो दुर्घटनामा परेर गम्भिर घाईते हुनुभएको थियो ।

उहाँलाई उपचारका लागि तत्काल चौरजहारी  हुँदै  नेपालगञ्ज  लगिएको थियो त्यहाँ पनि उपचार सम्भव नभएपछि भारतको लखनउ लिईएको थियो । उहाँको टाउको, गर्दन, मेरुदण्ड लगायतका शरिरका विभिन्न भागमा गम्भिर चोट लागेको थियो ।

शनिबार बिहान उपचारको क्रममा उहाँको निधन भएको पारिवरिक स्रोतले जनाएको छ । भारतको लखनउस्थित म्याक्स अस्पतालमा उहाँको उपचार भईरहेको थियो । पछिल्लो समय स्वास्थ्य सुधारउन्मुख भईरहेको बताईएतापनि अचानक निधनको खबर आएको हो।

खत्री वडा नम्वर ६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट गाउँपालिकाको कार्यालयमा आएर भूकम्पको विस्तृत क्षति आकलनका लागि आएको प्राविधिकहरुको टोलीलाई लिएर वडा नम्वर ४ तर्फ जाँदै गर्दा दुर्घटनामा पर्नुभएको थियो ।  कार्यक्षेत्रबाट फर्कदै गर्दा भएको दुर्घटनामा परेर एक असल, ईमान्दार, स्वास्थ्य क्षेत्रको अब्बल हस्ती गुमाएको गाउँपालिकाका  प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकीले  बताउनु भयो । गाउँपालिकाले एउटा कर्तव्यनिष्ठ, इमानदार, कुशल स्वास्थ्यकर्मी गुमाएको उहाँको भनाइ छ ।  सानीभेरी गाउँपालिका ४ घर भएका खत्री हाल दाङ बस्दै आउनु भएको थियो । उहाँको श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँको शव लखनउबाट अहिले विहान दाङ ल्याइएको छ ।

पोष्टमाटम पछि आजै आइतबार बिहान तुलसीपुर स्थित शितलपुर घाटमा अन्तेष्टि गरिने बताईएको छ ।