अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ । अधिकारीहरुका अनुसार उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा भूकम्पको केन्द्र थियो । फर्नडेल, हम्बोल्ट काउन्टीको एक सानो शहर हो । यो ओरेगन सीमाबाट करिब २०९ किलोमिटर टाढा पर्दछ । यसैगरी सान फ्रान्सिस्कोबाट ४१८ किलोमिटर टाढा पर्दछ ।

भूकम्प आएलगत्तै ५३ लाख जनामा सुनामीको चेतावनी जारी गरिएको थियो । तर पछि उक्त चेतावनी हटाइएको बीबीसीले जनाएको छ । स्थानीय अधिकारीहरुका अनुसार भूकम्पबाट मानवीय क्षति वा कुनै ठूलो भौतिक क्षतिको सूचना प्राप्त भएको छैन । हम्बोल्ट काउन्टीको शेरिफ कार्यालयका अनुसार भूकम्प आएको केही समयसम्म विद्युत् आपूर्ति बन्द भएको थियो । शक्तिशाली भूकम्प पश्चात क्यालिफोर्नियाको हम्बोल्टमा १०औं हजार मानिस अन्धकारमा बस्न बाध्य छन्, उनीहरुसँग विजुली छैन ।