अमेरिकाको ह्युस्टनको एक अपार्टमेन्टमा नेपाली विद्यार्थीको गोली हानेर हत्या भएको छ । ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या भएको हो । कस्ले, किन गोली हानेर हत्या गरेको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ ।विश्वस्त सुत्रका अनुसार मृतक नेपाली विद्यार्थी ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा बस्दै आएकी थिइन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात ‘अटस्पी’ (पोष्टमार्टम) का लागि शव अस्पताललाई जिम्मा लगाएको छ । मृतकको नाम मुना पाण्डे भएको बताइएको छ ।अमेरिका कै चौथो ठूला सहर ह्युस्टन अमेरिकाको दक्षिणी राज्य टेक्ससको एक मुख्य शहर हो । न्यूयोर्क, लसएन्जलस, सिकागो पछिको बढी जनघनत्व भएको सिटीमा ह्युस्टन पर्छ ।सोमवार अपरान्ह अज्ञात नम्वरबाट अपार्टमेण्टमा फोन आएको र कोठाभित्र लास भएको जानकारी दिइएको भनिएको छ।

 

त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेको र प्रहरीले अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको हो। मृतकको नेपालमा रहेकी आमा र परिवारलाई घटनाका बारेमा स्थानीय नेपाली समुदायका तर्फबाट खबर गरिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले हिमालय खबरलाई जानकारी दिएकाछन् । नेपालमा रहेकी मृतककी आमा अनिता पाण्डे अधिकारीका अनुसार छोरीसँग चार दिन अघि कुराकानी भएको थियो ।

मुना उनको एउटै मात्र सन्तान रहेको समेत उनले बताइन् ।