दोस्रो पटक टी-२० विश्वकप खेल्न लागेको नेपाली क्रिकेट टीम गत साता अमेरिका उड्यो । विश्वकप सुरु हुनुभन्दा एक महिना अगाडि नै अमेरिका लगिएको टोलीको कुनै सेड्यूल भने सार्वजनिक गरिएको छैन ।

अमेरिका आउने टोलीमा १५ जना खेलाडी छन् भने ८ जना कोचिङ स्टाफ र अफिसियल गरी २३ सदस्य छन् । क्यानका केन्द्रीय सदस्य दिवाकर घलेलाई टीम लिडरको भूमिका दिएर अमेरिका भ्रमण गर्ने टोलीभित्र अटाइएको छ । कोचिङ स्टाफ ६ जना छन् । क्यान अध्यक्ष चतुरबहादुर चन्द भने विश्वकप सुरु भएपछि जानेछन् ।

अमेरिकामा नेपाली टोलीले के गरेर एक महिना बिताउँदैछ भन्ने क्रिकेट समर्थकलाई खुल्दुली हुन सक्छ । यस विषयमा क्यानका म्यानेजर विनोद दाससँग प्रश्न गर्दा उनले नेपाली टीमलाई अमेरिकाको तीन वटा शहरमा क्याम्पमा राखिने बताए ।
उनले भने, ‘त्यस्तो महत्त्वपूर्ण सेड्यूल त केही छैन । खेलाडीहरू क्याम्पसमा बस्नु हुन्छ । त्यहाँको वातावरणमा अभ्यस्त हुनलाई चाँडै पठाइएको हो ।’

नेपाली टीम अहिले फ्लोरिडामा क्याम्पमा छ । त्यहाँ चार दिन क्याम्पपछि थप दुई शहरमा क्याम्प राखिने छ । यसबीचमा नेपालले दुईवटा अभ्यास खेल खेल्ने भनिए पनि कोसित भनेर फिक्स्ड भइसकेको छैन ।

क्यान स्रोतका अनुसार नेपाली टीम एक महिना अमेरिका बस्दाको खर्च सबै नेपाल सरकारले नै व्यहोर्नुपर्ने हुन्छ । ‘आइसीसीले नेपालबाट अमेरिका जाँदाको ‘एयर फेयर’ दिन्छ, बाँकी हाम्रो आफ्नै खर्च हुने हो,’ स्रोतले भन्यो । खर्च व्यवस्थापनको पाटो क्यान सचिव पारस खड्काले हेरिरहेका छन् ।

#नेपालप्रेसबाट