रुकुम पश्चिम जिल्लाका ६ वटा स्थानीय तह मध्ये पाँच वटा स्थानीय तहका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित लाभग्राहीलाई राष्ट्रिय भूमि आयोग रुकुम पश्चिमले निस्सा वितरण गरेको हो । जसमा २ हजार १ सय ६७ भूमिहीनलाइ निस्सा वितरण गरिएको छ । भुमि आयोग रुकुम पश्चिमले खलङ्गामा आइतबार पत्रकार सम्मेलन गरेर यस बारेमा जानकारी बनाएको हो ।

पाँच स्थानीय तह मध्य सबैभन्दा कम त्रिवेणी गाउँपालिका १ सय ८ भूमिहीन र सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा १ हजार ४३ र दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासलाई निस्सा वितरण गरिएको भूमि आयोग रुकुम पश्चिमका अध्यक्ष मीनबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार चौरजहारी नगरपालिकामा ४ सय ६६, सानीभेरी गाउँपालिकामा ३ सय २४, बाँफिकोट गाउँपालिकामा १ सय ९६ लाभग्राहीलाई निस्सा वितरण गरिएको छ ।  मुसिकोट नगरपालिकामा पहिचान भएका ५३ भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित लाभग्राहीलाई केही दिनभित्र निस्सा वितरण गरिने अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

 

जिल्लाका वटै स्थानीय तहको लगत सङ्कलन भई डाटा इन्ट्री भने सम्पन्न भइसकेको भूमि आयोग रुकुम पश्चिमका विज्ञ सदस्य सुशील विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार निस्सा प्राप्त गर्ने व्यक्ति उपर दाबी विरोध उजुरी गर्न भूमिहीन दलित र सुकुम्वासीलाई ७ दिन र अव्यवस्थित बसोवासीलाई १५ दिनको सूचना प्रकाशन गरी छानबिन भइरहेको छ ।

 

त्यस्तै वडा स्तरबाट भूमिहीनका लागि उपलब्ध बनाउने जग्गाको छनोट तथा व्यवस्थापन गरी स्थानीय तहबाट जिल्लामा पठाउने कार्य जारी छ । जिल्लामा अव भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा उपलब्ध बनाउने, जग्गा नाप जाँच गर्ने र जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न बाँकी रहेको छ ।  भूमिहीनलाई निस्सा वितरण सँगै भूकम्पपछि अस्थायी आवास निर्माण, सरकारी सेवा सुविधा लगायत अन्य सेवा सुविधा लिन समेत सहज भएको छ । भूमिहीनलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न २०८१ /०८२ सम्म समय लाग्ने विज्ञ सदस्य विष्टले जानकारी दिनुभयो