रुकुम पश्चिममा पहिलो पटक अहिलेसम्मकै सर्वाधिक  राशिको पुरुस्कार सहित भलिबल कप को दोस्रो संस्करण हुने भएको छ ।  रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले आयोजना गर्ने  प्रतियोगिताको दोस्रो संस्करणको मिति तय गरेको हो । यो संस्करण मा सह आयोजकमा मुसिकोट ७ को हाम्रो सरोकार जोडिएको छ । रुकुम कप भलिबलको दोस्रो संस्करण आगामी वैशाख ६ गते देखि १२ गतेसम्म मुसिकोट १ खलङ्गाको बराहटाकुरामा हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो ।

यस संस्करणमा प्रतियोगिताको पुरस्कार राशि पनि बढाइएको छ भने स्वरूपमा केही परिवर्तन गरिएको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष बुढाले बुढाको भनाइ छ । उहाँका अनुसार दोस्रो संस्करणको विजेता पुरस्कार पाँच लाखबाट बढाएर पाँच लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ पुर्‍याइएको छ । उप विजेता पुरस्कार दुई लाख ५५ हजार पाँच सय ५५ पुर्‍याउँदा तेस्रो पुरस्कार एक लाख ५५ हजार पाँच सय ५५ र सान्त्वना पुरस्कार एक लाख पाँच हजार पाँच सय ५५ रहेको बुढाले बताउनुभयो । समग्रमा सबै पुरस्कारमा वृद्धि गरिएको उहाँको भनाई छ । नगद सहित कप, मेडल र प्रमाण पत्रको समेत व्यवस्था रहेको छ ।

साथै विभिन्न व्यक्तिगत विधामा पनि खेलाडीलाई पुरस्कृत गरिने छ । अध्यक्ष बुढाका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पुरस्कार पाउँदा वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर, इमर्जिङ प्लेयर र वेस्ट कोचले समान पाँच हजार नगद पुरस्कार पाउने छन् ।

साथै यो संस्करण देखि प्रतियोगितालाई खुला बनाइएको छ । पहिलो संस्करणमा साबिकको मध्यपश्चिमाञ्चल विकास क्षेत्र भित्र पर्ने जिल्ला स्तरीय खेलाइए पनि यो संस्करण देखि भने देशभरका जिल्लाहरूले सहभागिता जनाउन पाउने गरी व्यवस्था गरिएको अध्यक्ष बुढाले जानकारी गराउनुभयो । कर्णाली प्रदेश भित्रका विभागीय टिमले समेत सहभागिता जनाउने पाउने उहाँले बताउनुभयो ।

रुकुम पश्चिममा पहिलो पटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू आउन लागेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू रुकुम पश्चिम पुग्दा जिल्लाको भलिबल विकासमा समेत टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । प्रतियोगिता हेर्नका लागि यो वर्ष पनि टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । गत वर्ष देखि पहिलो पटक रुकुम पश्चिममा टिकट काटेर भलिबल हेर्ने व्यवस्था गरिएको थियो । यो वर्ष समूह चरणका खेल हेर्न एक सय र सेमिफाइनल देखि दुई सय रुपैयाँ टिकट लाग्ने बताइएको छ ।

त्यस्तै यो संस्करणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समेत टिममा सहभागी गराउन पाइने छ । एउटा जिल्लाले बढीमा तीन जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सहभागी गराउन पाउँदा कर्णाली प्रदेश भित्रका विभागीय टिमले आफ्नो राष्ट्रिय क्लबमा रहेका बढीमा तीन जना खेलाडी टिममा राख्न पाउने अध्यक्ष बुढाको भनाई छ । प्रतियोगितालाई राष्ट्रिय स्तरको बताउन र रोमाञ्चकता थप्न यसो गरिएको उहाँले बताउनुभयो ।

यो प्रतियोगिता कर्णाली प्रदेशै हाससम्मकै ठुलो र २०८१ सालको देशभरकै सर्वाधिक पुरस्कार राशिको रहेको बुढाले बताउनुभयो । प्रतियोगिताका लागि करिब २५ लाख बढि खर्च लाग्ने अनुमान गरिएको छ । अध्यक्ष बुढाका अनुसार जिल्लाको भलिबल विकास गरी रुकुमलाई खेलकुदको हबका रूपमा विकास गर्नु र खेल पर्यटनको विकासका लागि रुकुम कम भलिबलको परिकल्पना गरिएको हो ।