रुकुम पश्चिममा सर्पको टोकाई र रक्तश्रावको कारण एक सुत्केरी महिलाको ज्यान गएको छ । चौरजहारी नगरपालिका –१३ की २२ बर्षिया बिनिता बिष्टको बुधबार बिहान मृत्यु भएको हो ।

 

मंगलबार दिउँसो घर नजिकै बारीमा गाईबस्तुलाई घाँस काट्ने क्रममा बिष्टलाई सर्पले टोकेको थियो । सर्पले टाेकेपछि उहाँलाई गाउँकै घरेलु उपचारले ठिक हुने भन्दै राखिएको थियो । बुधबार बिहान २ बजे नवजात शिशुको जन्म दिनुभएकी बिष्टलाई रक्तस्राव समेत भईरहेको थियो ।

 

उहाँलाई उपचारको लागि बिहान ५ बजे चौरजहारी अस्पताल ल्याईएको र उपचारको क्रममा मृत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिल बहादुर गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार सर्पको बिष शरीरमा फैलिएको र रक्तस्राव पनि रोकिएको थिएन ।

 

अस्पतालका अनुसार बच्चा जन्मने समयावधि कात्तिक महिनामा रहेको थियो । समय नपुगेर जन्मेको नवजात शिशुको अहिले अस्पतालको आईसीयुमा राखेर उपचार भैरहेको छ । शिशुको शरिरमा पनि सर्पको विष फैलिएकोले एन्टिस्नेक भेनम मार्फत उपचार सुरु गरिएको चिकित्सकको भनाई रहेको छ ।

 

रुकुमपश्चिममा वर्षेनी सर्पदंसका बिरामीहरुले उपचार अभावमा ज्यान गुमाउँदै आईरहेका छन् । कर्णाली प्रदेशको रुकुमपश्चिम जिल्लालाई सरकारले विषालु सर्प नपाईने जिल्लाको सूचिमा राखेको कारण सर्पदंस विरुद्ध लगाईने एन्टीस्नेक भेनम सरकारी कोटाबाट पाईदैन । जसको कारण समयमै उपचार नपाउँदा बिरामीहरुको ज्यान जाने अवस्था रहेको छ ।

 

सर्पले टोकेका बिरामीहरुलाई जिल्ला बाहिर सुर्खेत, नेपालगञ्ज पठाउँदा कतिपय बिरामीहरुको बाटोमा नै ज्यान जानसक्ने जोखिम समेत हुने गरेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।