रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले नगरभरमा कार्यरत सबै करार शिक्षकको करार सम्झौता नविकरण नगर्ने निर्णय गरेको छ । शनिबार बसेको ७८ औं नगरकार्यपालिका बैठकले नगरपालिकाले करारमा नियक्त गरी कार्यरत रहेका २ सय ४६ जना शिक्षकको करार सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले विद्यालय मर्जको अभियान संचालन गर्दै छ । यसलाई समेत लक्षित गरेर करार शिक्षकको करार सम्झौता रद्द गरिएको नगर कार्यपालिका प्रवक्ता देवबहादुर घर्तीले जानकारी दिनुभयो । अव पुनः नयाँ भर्ना खोलेर करार शिक्षक नियुक्त गर्ने उहाँको भनाई छ । अव नगरले कति जना शिक्षकलाई करारमा भर्ना गर्छ भन्ने एकीन नभएपनि अहिलेको भन्दा कम हुने उहाँले बताउनुभयो ।

नगरपालिकाले विद्यालय मर्जका विषयमा अध्यन गर्न एउटा कार्यदल निर्माण गरेको छ । उक्त कार्यदलको प्रतिवेदनका आधारमा वैशाख २० गतेसम्म नगरका सबै ठाउँमा पुगेर छलफल गर्ने र विद्यालय मर्जका विषयमा निर्णय गर्ने नगरकार्यपालिकाले निर्णय गरेको छ । विद्यार्थी संख्या कम भएका र आर्थिक समस्यामा रहेका विद्यालयलाई मर्ज गर्नेगरी नगरपालिका लागि परेको छ ।

विद्यालय संचालन गर्नै मुश्किल अवस्था सृजना भएपछि बाध्य भएर मर्जको तयारीमा लागेको नगर प्रमुख रबि केसीले बताउनुभयो । जिल्ला भरमा जस्तै आठबीसकोटमा पनि हालकै संख्यामा विद्यालय चलाउन सकिने अवस्था नरहेको उहाँले बताउनुभयो । त्यस्तै ७८ औं नगरकार्यपालिका बैठकले सबै जनप्रतिनिधिले २ महिनाको सेवा सुविधा नलिने पनि निर्णय गरेको छ ।

करार शिक्षकको तलवभत्ता व्यवस्थापन लगायतका काममा प्रयोगका लागि सबै जनप्रतिनिधिले खाइपाइ आएको २ महिनाको सेवा सुविधा नलिने कार्यपालिका बैठकले निर्णय गरेको प्रवक्ता घर्तीले बताउनुभयो