रुकुम पश्चिमको चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयले सेवा सुरु गरेको छ । स्थापना भएको ३ वर्षपछि कार्यालयले आजबाट सेवा सुरु गरेको हो । कार्यालय स्थापना भएपनि जनशक्ति अभावमा कार्यालयले सेवा सुरु गर्न सकेको थिएन् । कार्यालय २०७६ भाद्र १२ गते स्थापना भएकाे थियाे ।

 

आज कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कार्यालयको सेवा उद्घाटन गर्नुभयो । रामप्रसाद शर्माको ब्लुबुक नविकरण गरेसंगै सेवा सुचारु भएको हो । अहिले तत्कालका लागि कार्यालयबाट दर्ता, नामसारी, कर असुल, ब्लुबुक नविकरण सेवा प्रवाह हुने कार्यालय प्रमुख आनन्द चपाइले जानकारी दिनुभयो ।

 

अहिले कार्यालयमा प्राविधिक कर्मचारी छैनन् । प्राविधिक कर्मचारी आएमा सवारी सरुवा सहमति दर्ता, सवारी जाँच पास, रुट परमिट जारी, नविकरण, अस्थायी रुट निर्धारण लगायतका सेवा प्रवाह हुने कार्यालय प्रमुख चपाइले बताउनुभयो । उहाँका अनुसार लाइसेन्स लगायतका सेवा भने ट्रायल सेन्टर बनेपछि प्रवाह हुने छन् ।

ट्रायल सेन्टर बनेपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी, नविकरण लगायतका सेवा सुचारु हुने उहाँले बताउनुभयो । तर विभागबाट कोड प्राप्त भएमा लाइसेन्स नविकरण पहिला सुरु हुनसक्ने पनि कार्यालय प्रमुख चपाइको भनाई छ । चौरजहारी नगरपालिका वडा नम्बर २ मा रहेको कार्यालयमा अहिले ७ जनाको दरबन्दी रहेको छ ।

 

तर अहिले कार्यालयमा अप्राविधिक ३ जना मात्र कर्मचारी रहेका छन् । आज एक औपचारिक कार्यक्रमका विच सेवाको सुरुवात गरिएको हो । कार्यालय प्रमुख चपाइको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा चौरजहारी नगर प्रमुख पुष्प वादी, उपप्रमुख इश्वरी कुमारी शर्मा विएम, पूर्व नगर प्रमुख विशाल शर्मा, उप प्रमुख राधा रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल लगायतको पनि आतिथ्यता रहेको थियो ।