रूकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति रुकुम पश्चिमको आयोजना र कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा फागुन २६ गतेदेखि चैत्र ७ गतेसम्म मुसिकोट खलंगाको बराहटाकुरा टुडिखेलमा महोत्सव हुने भएको हो ।

 

आज मुसिकोट खलंगामा पत्रकार सम्मेलन आयोजना गरेर यस बारेमा जानकारी गराइएको हो । जिल्लाको कला संस्कृति, पर्यटन, कृषिलाई प्रवद्र्धन गर्ने गरी महोत्सव आयोजना गरिएको कला साँस्कृतिक पर्यटन मञ्चका अध्यक्ष तथा महोत्सव संयोजक डिल्ली परियारले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्वसमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

 

त्यस्तै महोत्सवमा १ सय वटा विभिन्न व्यापारिक तथा प्रचारात्मक स्टलहरु रहने उहाँले बताउनुभयो । त्यसरी राखिने व्यापारिक स्टलहरुमा जिल्लाका व्यापारीहरुलाई पहिलो प्राथमिकता दिइने आयोजकले बताएको छ । जिल्लाका व्यापारीपछि मात्र बाहिरका व्यापारीलाई स्टलका लागि अवसर दिइने आयोजक समितिका अमित परियारले बताउनुभयो ।

 

यसले जिल्लाको व्यापार प्रवद्र्धनमा समेत टेवा पुग्ने उहाँको भनाई छ । महोत्सवमा व्यापारिक स्टल सहित कृषि, पर्यटन, जिल्लाको कला संस्कृति झल्किने खालका स्टलका साथै सञ्चार स्टल पनि राखिने छ । त्यस्तै मनोरञ्जन र खेलसंग जोडिएका अन्य संरचनाहरु पनि राखिने आयोजकले बताएको छ ।

महोत्सवलाई सफल पार्न सरोकारवाला सबै निकाय मिलेर काम गर्ने आयोजक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल रुकुम पश्चिमका अध्यक्ष तुल देवकोटाले बताउनुभयो । महोत्सवमा को–को कलाकार ल्याउने र महोत्वसलाई थप व्यवस्थित कसरी बनाउने तथा आकर्षणका लागि थप के गर्न सकिन्छ भनेर छलफल गरिरहेको उहाँले बताउनुभयो ।

शान्तिपूर्ण वातावरणमा महोत्सव सम्पन्न गर्ने गरी लागि पर्ने देवकोटाले बताउनुभयो । जिल्ला सदरमुकाममा लामो समयपछि महोत्सव संचालन हुन लागेको छ । जिल्लामा २०७५ साल देखि महोत्सव हुन सकेका छैनन् । सुरुमा स्थानीय तहले अनमति नदिदा महोत्सव हुन नसकेकामा त्यसपछि भने कोराना महामारीका कारण महोत्वस हुन सकेका थिएनन् ।

#कखराबाट साभार