जिल्लाको  चौरजहारी नगरपालिकामा पाँच वडाका १ सय ५० बढि सुनौला हजार दिनका आमाहरुलाई कुखुराको चल्ला वितरण गरिएको छ । सुनौला हजार दिनका आमा र बच्चाको पोषणमा सहयोग पुर्याउने  उदेश्यले कुखुराको चल्ला वितरण गरिएको हो ।

बहुक्षेत्रीय पोषण योजना अन्तरगत नगरपालिकाको १, २, ३, ४ र ८ वडाका गरिव, बिपन्न र दलित परिवारको सुनौला हजार दिनका १ सय ५० बढि आमाहरुलाई कुखुराको चल्ला वितरण गरेको हो ।

आफु र बच्चालाई पोषिलो खान पाउने गरी नगरपालिकाबाट आफुले कुखुराको चल्ला पाएपछि आमाहरु दङ्ग छन् । आफुले पाएको कुखुराको चल्ला पालेर अण्डा उत्पादन गर्ने र बच्चालाई पनि अण्डा खुवाने साथै बचेका अण्डा बेचर मासु दुध किनेर खाने योजना रहेको  चौरजहारी नगरपालिका–८ कि सरिता परियारले सुनाइन्

बालवालिकाको पोषण स्थितिलाई आमाहरुको पोषण अवस्थाले पनि निर्धारण गर्ने गर्दछ । त्यसैकारण महिला तथा वालवालीकाको पोषण स्थितिमा सुधार गर्ने उद्देश्यले संघिय मामिला तथा सामान्य मन्त्रालय अन्तर्गत बहुक्षेत्रीय पोषण योजनाको २ लाख ६५ हजार विनियोजित रकमबाट कुखुराको चल्ला खरिद गरि उक्त घरपरिवारलाई वितरण गरेको नगरपालिका आर्थिक विकास शाखा प्रमुख गणेश बुढामगरले जानकारी दिनुभयो ।

पोषण अवस्था सुधारका लागि संघिय मामिला तथा सामान्य मन्त्रालय अन्तर्गत बहुक्षेत्रीय पोषण योजना र नगरपालिकाको सहकार्यमा हजार दिनका घरपरिवारका चल्ला वितरण, च्याउको विउ वितरण, जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखिकरण लगाएका सचेतामुलक कार्यक्रमहरु गर्दे  आएको छ ।