२८ औ जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आयोजना गरेको पाँचौ राष्ट्रिय सानीभेरी–मौराखारा गुरिल्ला म्याराथनको उपाधी पुरुष तर्फ दुर्गाबहादुर बुढाले हात पार्नुभएको छ ।

४६ किलोमिटर दुरीको म्याराथनमा ६१ जना प्रतिस्पर्धीलाई पछाडि पार्नुहुँदै रुकुम पश्चिमका बुढाले प्रथम स्थान प्राप्त गर्नुभएको हो । उहाँले चार घण्टा ५८ मिनेटको समयमा तोकिएको दुरी पार गर्नुभएको आयोजक सानीभेरी गाउँपालिकाले जनाएको छ । बुढाले एक लाख पुरस्कार राशी प्राप्त गर्नुभएको छ ।

त्यसैगरी भोजपुरका उमेश राईले पाँच घण्टा चार मिनेटमा निर्धारित दुरी पार गरेर दोश्रो स्थान हाँसिल गर्नुभएको छ भने रुकुम पश्चिमका अर्जुन कुमार बस्नेत पाँच घण्टा ११ मिनेटमा उक्त दुरी पार गरेर तेस्रो स्थान प्राप्त गर्नुभएको छ । निर्धारित दुरी पाँच घण्टा २१ मिनेटमा पार गरेर रुकुम पूर्वका हिमाल बुढाले चौथो स्थान ल्याउनुभएको छ ।

दोश्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्न सफल धावकहरुलाई क्रमैसँग ७५ हजार, ४५ हजार र १५ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढोथोकीले जानकारी दिनुभयो ।

त्यसैगरी महिला तर्फको म्याराथनमा जुम्लाकी मञ्जु रावत प्रथम हुनुभएको छ । उहाँले निर्धारित ३४ किलोमिटरको दुरीमा २१ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै तीन घण्टा २४ मिनेटमा पार गर्नुभएको छ ।

खोटाङकी प्रिया राईले तीन घण्टा ३४ मिनेटमा दुरी पार गरेर दोश्रो स्थान हाँसिल गर्नुभएको छ भने जुम्लाकी राज्यलक्ष्मी रावतले तेस्रो स्थान प्राप्त गर्नुभएको छ । उहाँले तीन घण्टा ४१ मिनेटमा निर्धारित दुरी पार गर्नुभएको हो । प्रथम, दोश्रो, तेस्रो स्थान प्राप्त गर्न सफल धावकहरुलाई क्रमश ६० हजार, ४० हजार र  २० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

जनयुद्धको स्मरण र अग्लो स्थानमा रहेको पर्यटकिय स्थलको प्रचारको लागि गाउँपालिकाले हरेक वर्ष मौराखारा गुरिल्ला म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आईरहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले जानकारी दिनुभयो ।