चौरजहारी नगरपालिकाको १६ औँ नगरसभा सम्पन्न

नविन पि.एम. माघ ०७

जिल्लाको चौरजहारी नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम संशोधन र ६ महिनाको आयव्यय सार्वजनिक गरेको छ । शनिबार १६ औँ नगरसभाबाट चालु आबको बजेट तथा कार्यक्रम संशोधन, साउन १ गतेदेखि पुस ३० गतेसम्मको आयव्यय सार्वजनिक गर्नुका साथै प्रगती समीक्षा समेत गरेको हो ।

नगरपालिकाले चालु आवको आर्थिक कारोबार र अन्य विभिन्न समितिहरूले साउनदेखि हालसम्म पारित गरेका कार्यक्रम, रकमान्तर, निर्णय, विविध, ऐन/नियम/कार्यविधि/निर्देशिका र अन्य कानुन अनुमोदन गरेको छ । नगर कार्यपालिकाको कार्यालय र सोअन्तर्गतका निकायले चालु आर्थिक वर्षमा सम्पादित कामको क्षेत्रगत प्रगति, चुनौती र सम्भावनाहरू पनि सभामा प्रस्तुत गरिएको थियोे ।

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ को अनुसुची २ को बुँदा नं. ७५ बमोजिम नगरपालिकाको सार्वजनिक सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल व्यवसायको विवरणसहितको अद्यावधिक अभिलेख सभाले अनुमोदन समेत गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखापरीक्षणको प्रारम्भिक लेखापरीक्षण सभामा प्रस्तुत गरी छलफल पनि गरिएको नि. प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो  ।

चालु आवमा संघ तथा प्रदेशबाट प्राप्त थप बजेटसहितको कार्यक्रम अनुमोदन, स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) र स्थानीय तह वित्तीय जोखिम सुशासन स्वमूल्याङ्कन (FRA) को नतिजा पनि सभाले अनुमोदन गरेको छ ।

ऐतिहासिक महान जनयुद्ध सुरु भएको दिनको अवसरमा यस बर्षको फागुन १ गते नगरपालिका भर उल्लासपूर्ण वातावरणमा मनाउन सार्वजनिक बिदा दिने निर्णय पनि सभाले गरेको छ । नगरपालिका क्षेत्रभित्र भइरहेका पूर्वाधार निर्माणको जिम्मेवारी लिइ ढिलासुस्ती गर्ने निर्माण व्यवसायीहरूलाई तत्काल कामलाई तिव्रता दिइ समयमै सम्पन्न गराउन ध्यानाकर्ष भएको भन्दै ताकेता गर्ने निर्णय पनि सभाले गरेको नगरपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ माघ ७ गते शनिवार
प्रतिक्रिया