रुकुम पश्चिम प्रदेश सभा २ बाट निर्वाचित राजकुमार शर्मा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको नेतामा चयन हुनुभएको छ । बुधबारको पार्टी प्रदेश समन्वय समितिकाे बैठकबाट शर्मा संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको भएकाे पार्टी प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिनुभयाे ।

कर्णाली प्रदेश नेतृत्वको भाग माओवादीले पायो भने अव शर्मा मुख्यमन्त्री बन्नुहुने छ । उहाँको चर्चा चुनाव अघि नै मुख्यमन्त्रीका रुपमा भइरहेको थियो । संसदीय दलको नेता चयन भएपछि भने औपचारिक रुपमा शर्मा माओवादीबाट कर्णालीको मुख्यमन्त्रीको दाबेदार बन्नुभएको छ ।

माओवादीमा संसदीय दलको नेताका लागि सुर्खेतका विन्दमान बिष्ट पनि दाबेदार हुनुहुन्थ्यो । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य समेत रहनुभएका शर्मा मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कर्णबहादुर घर्तीलाई फराकिलो मतान्तरले पराजित गर्दै रुकुम पश्चिम प्रदेश सभा २ बाट निर्वाचित हुनुभएको थियो ।