रुकुम पश्चिमबाट मंसिर ४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचन लडेका अधिकांशले चुनाव खर्चको विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म ८ जना उम्मेदवारहरुले चुनावको खर्च विवरण बुझाएका छन् । खर्च विवरण बुझाउनेमा ४ जना प्रतिनिधि र ४ जना प्रदेश सभा सदस्यका उम्मेदवार रहेको कार्यालयले जनाएको छ ।
अव ४ जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी रहेको छ । जिल्ला निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरण अनुसार प्रतिनिधि सभा सदस्यमा विजयी नेकपा माओवादी केन्द्रका जनार्दन शर्माको चुनावी खर्च झण्डै २४ लाख देखिएको छ । शर्माले कार्यालयमा बुझाएको खर्च विवरणमा चुनावमा २३ लाख ९८ हजार खर्च भएको उल्लेख गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवारले जिल्लामा अधिकतम ३१ लाख खर्च गर्न पाउने अधिकार थियो ।
त्यस्तै प्रतिनिधि सभाका अर्का उम्मेदवार नेकपा एमालेका नन्दराम देवकोटाको खर्च ९ लाख ८९ हजार ४ सय ५५, मंगोल नेशनल अर्गनाइजेशनका हरिबहादुर पुनको २९ हजार ६ सय ५० र स्वतन्त्र उम्मेदवार तारक केसीको खर्च ६ लाख ८५ हजार देखिएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नम्बर १ मा विजयी नेकपा माओवादी केन्द्रका महेन्द्र केसीको खर्च ५ लाख ९९ हजार ९ सय ५८ देखिएको मल्लको भनाई छ ।
प्रदेश सभा ख मा विजयी नेकपा माओवादी केन्द्रका राजकुमार शर्माको खर्च ८ लाख ८ हजार ७३ र राप्रपाका उम्मेदवार निर्जल केसीको खर्च १ लाख ३२ हजार ७ सय रहेको उहाँले बताउनुभयो । जिल्लाको प्रदेश सभा १ मा अधिकतम २१ लाख र २ मा अधिकतम १७ लाख रुपैंया चुनावमा खर्च गर्न पाइने व्यवस्था थियो ।
अव प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार राजन पाण्डे र राप्रपाका दिपककुमार मल्ल, प्रदेश सभा १ का राप्रपाका विनोदकुमार मल्ल र प्रदेश सभा २ का एमालेका उम्मेदवार कर्णबहादुर घर्तीले खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ