रुकुम पश्चिममा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान जिल्ला भरका १ सय ३९ वटा स्थायी र २ वटा अस्थायी मतदान केन्द्रमा एकै पटक बेलुकी ५ बजे सम्पन्न भएको हो । जिल्लामा सामान्य बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरले जानकारी दिनुभयो । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ मा प्रतिनिधि सभा र प्रदेश सभाको मतपत्र साटिदा केही समय मतदान रोकिएको थियो ।

तर मुचुल्का तयार पारेर केही समयमै वडाको स्यार्पू ताल मावि मतदान स्थलमा मतदान सुचारु भएको थियो । त्यस्तै जिल्लाको आठबीसकोट नगरपालिकाका तीन वटा वडामा मतदान विथोल्ने प्रयास भएको थियो । वडा नम्बर ५ को गोतामकोट, वडा नम्बर ११ को नेपाल राष्ट्रिय मावि र वडा नम्बर १३ को निमावि घेत्मा मतदान स्थलमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अवरोधको प्रयास गरेका थिए । उनिहरुलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो ।

तर मतदान भने नरोकिएको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाई छ । यि घटना वाहेक जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सकिएको उहाँले बताउनुभयो । जिल्लामा कति मत खस्यो भनेर तथ्यांक संकलनको काम भइरहेको उहाँले बताउनुभयो ।