आउँदो शनिबारसम्म देशभर वर्षा हुने पूर्वानुमान छ । आइतबारदेखि भने मौसममा क्रमशः सुधार आउने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
हाल नेपालमा दक्षिण–पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण कतिपय ठाउँमा दैनिक जीवनयापन प्रभावित भएको छ ।
अहिले मनसुन सकिने बेलामा मनसुन सक्रिय भएको महाशाखाका मौसमविद् पौडेलले बताए । “विशेषगरी वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा यसको प्रभाव बढी छ,” उनले भने, “यो आइतबारबाट करिब–करिब सुधार हुँदै जान्छ । आइतबारदेखि कतिपय ठाउँमा घाम लाग्छ, कतिपय ठाउँमा बादल, पानी पनि हुन्छ । सबैतिर खुल्दैन । क्रमिक रूपमा आइतबारभन्दा, सोमबार, सोमबारभन्दा मंगलबार, यसरी कम हुँदै जान्छ ।”
उनका अनुसार आइतबारदेखि कतिपय ठाउँमा लगातारको झरी रोकिने, कतिपय ठाउँमा घाम लाग्ने पूर्वानुमान छ । “योबीचमा शनिबारसम्म चाहिँ एक छिन वर्षा रोकिए पनि फेरि बादल लाग्ने, फेरि पानी पर्ने त्यस्तो खालको देखिएको छ,” उनले भने ।









