रुकुम पश्चिमको चौरजहारी नगरपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ आज एक औपचारिक कार्यक्रमको आयोजना गरि पूर्णखोप सुनिश्चिता नगरपालिका घोषणा गरिएको हो ।
पालिकाभरिमा रहेका १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोपतालिका अनुसार १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्ण खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप युक्त पालिका घोषणा गरिएको स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख रामबहादुर सुनारले जानकारी दिनुभयो ।
आज नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख पुष्प वादीले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख वादीले पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको जनाउँदै दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेका कामको सरहाना गर्नुभयो ।
“समयमै १६ देखि २३ महिनासम्मका बालबालिकालाई सबै खोप लगाउन स्वास्थ्य संस्थाहरुले गरेको कार्यले आज पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ” उहाँले भन्नुभयो । घोषणा मात्रै ठूलो कुरा नभएकाले यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै नगर प्रमुख वादीले पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नका लागि नगरपालिका प्रतिबद्ध रहेको समेत बताउनु भयो ।