मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा परेका २५ वर्षीय पाइलट उत्सव पोखरेल अब फर्केर आउने छैनन् भन्ने सुनेर यँहाको लापुले गाउँ शोकमा परेको छ। उत्सव चौरजहारीले पाएका पहिलो र एक मात्र पाइलट हुन्।
करिब एक वर्षदेखि को-पाइलट भएर उडान भरिरहेका उनी तारा एयरको विमान दुर्घटनामा परेका हुन्। रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर-३ का उत्सव परिवारका कान्छा छोरा हुन्। शिक्षण पेशामा आवद्ध उनका बुवाआमा यतिबेला जाजरकोट र दाङमा छन्। उनी आफ्नो परिवार मात्र नभएर नगरपालिकाको लागि पनि उदाहरणीय युवा थिए। कारण उनी त्यस क्षेत्रको पहिलो पाइलट हुन्। फिलिपिन्सबाट अध्ययन सकाएर नेपाल आएलगत्तै तारा एयरमा काम गर्न थालेका उनले काम गरेको पहिलो वर्ष बित्न पाउँदा-नपाउँदै दुर्घटनामा परे।
उत्सवले कक्षा १० सम्मको पढाइ चौरजहारीकै भ्याली पब्लिक स्कुलबाट पूरा गरेका थिए। त्यसपछि काठमाडौंको भिएस निकेतनबाट प्लस टु गरेर पाइलट पढ्न फिलिपिन्स गए। फिलिपिन्समा पाइलट कोर्स पूरा गरेर उत्सव एक वर्षअघि स्वदेश फर्किएर तारा एयरको फर्स्ट अफिसर पाइलटका रूपमा काम सुरू गरेका थिए।

उत्सव पाइलट बनेपछि आफू पनि पाइलट बन्ने सपना बुनेर उनका दाजु उमेश पनि हाल फिलिपिन्समा पाइलटको तालिम लिइरहेका छन्। बुवा मनिराम पोखरेल जाजरकोटको नलगाड नगरपालिकामा शिक्षा स्रोत व्यक्तिको रूपमा कार्यरत छन्। आमा उषा, दाङ तुलसीपुरको बिजौरीस्थित एक विद्यालयमा पढाउँछिन्। छोरा उत्सवले उडाएको जहाज सम्पर्कविहीन भएको खबर पाएपछि आमा उषा दाङबाट र बुवा मनिराम जाजरकोटबाट नेपालगञ्ज हुँदै आइतबार राति नै काठमाडौं पुगेका छन्। पोखरेल दम्पतीका दुई छोरा मात्रै हुन्। दुबै अविवाहित छन्।
आफू उड्नुभन्दा पहिला उत्सव बुवा आमा र आफन्तलाई सम्झन्थे। उनले उडाएको प्लेन दुर्घटना परेको दिन बिहानै पौने ५ बजे उत्सवले बुवा मनिरामलाई भिडिओ कलमा कुराकानी गरेका थिए। बुवा मनिरामले भने, ‘उसले बिहान पौने पाँच बजे नै भिडिओ कल गरेको थियो। साढे पाँच बजे पोखरादेखि जोमसोम उड्दैछु भने पनि मैले शुभ यात्रा बाबु मात्र भनेको थिएँ।’
तारा एयरको नाइन एन एईटी ट्विनअट्टर जहाज आइतवार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको केही मिनेटमा बेपत्ता भएको थियो । तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ ।









