मौसमविदहरुले निर्वाचनको दिन शुक्रबार पानी पर्ने सम्भावना रहेकाले भोट हाल्न जाँदा छाता बोकेर जान आग्रह गरेका छन् ।
शुक्रबार देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यसपछि निर्वाचन आयोगले पनि चिन्ता पनि व्यक्त गरेको छ ।
विभागले चुनावलक्षित विशेष बुलेटिन निकाल्दै आयोग र गृह मन्त्रालयलाई अपडेट दिइरहेको छ । महाशाखाले यसअघि वैशाख २५ गते मौसम पूर्वानुमान विशेष बुलेटिन निकालेको थियो ।
बुधबार पुनः ३० गतेका लागि अर्को बुलेटिन निकालेको छ । महाशाखाको बुलेटिनमा चुनावको दिन दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बादल लाग्ने उल्लेख छ ।
चुनावको दिन प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ । पहाडी जिल्ला काठमाडांंै, भक्तपुर, ललितपुर, पोखरा, कास्की, बाग्लुङ, पर्वत, तनहँु रसुवा, सिन्धुपाल्चोकलगायत जिल्लामा पानी पर्ने देखिएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेल भन्छन्, ‘‘मनुसन सिजन सुरु भइसकेको छैन । यस्तो अवस्थामा विहानदेखि बेलुकासम्म पानी पर्ने भन्ने हुँदैन । यद्यपि, चुनावको दिनमा पहाडी र तराईका जिल्लाहरूमा पानी पर्ने सम्भावना देखिएको छ । आधा घण्टा एक घण्टामै रोकिने प्रकृतिको पानी पर्ने अनुमान गरेका छौँ ।”









