रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको आयोजनामा नगरपालिकाले एक औपचारिक कार्यक्रमका बिच नगर भित्र रहेका विभिन्न प्रकृतिका अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान गरेको छ ।
चौरजहारी नगरपालिकाका उप प्रमुख राधा रोकाको अध्यक्षतामा उक्त कार्यक्रम सन्चालन गरिएको हो । कार्यक्रममा आज बिहीबार वडा न १,२,३ र ४ का अपाङ्गता भएका ब्यक्तिहरुलाई एक/एक थान बलान्केट, शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई आवश्यकता अनुसार सहायक सामाग्री र HDCS , ABBS- CBR द्वारा स्वास्थ्य तथा सरसफाई सामाग्री बितरण गरिएको महिला बिकास सहायक निरीक्षक मेलिना रोकायले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै चौरजहारी नगरपालिकाका उप प्रमुख राधा रोकाले चौरजहारी नगरपालिकाले प्रत्येक बर्ष अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान कार्यक्रम गर्दै आईराखेको र यस बर्ष पनि सम्मान गरेको उहाँले बताउनुभयो । पूर्ण अशक्त,अति अशक्त मध्यम र सामन्य अपाङ्गता व्यक्तिलाई उनीहरुको आवश्यकता अनुसार नगरपालिकाबाट उनिहरुले पाउनु पर्ने सेवा सुबिधा निःशुल्क उपलब्ध गराएको उप प्रमुख रोकाले बताउनुभयो ।
रोकाका अनुसार वडा नम्बर १ देखि ४ नम्बर वडा सम्मको कार्यक्रम आज चैत्र १० गते भएको र वडा न ५,७,८ र ९ लाई लक्षित गरि चैत्र ११ गते आ.बि नार्जी , वडा नम्बर ६,१०,११,१२ र १३ को लाई चैत्र १२ गते ११ न वडा कार्यलय चौफा र वडा न १४ को अपाङ्गता भएका ब्यक्तिहरुलाई चैत्र १३ गते वडा कार्यालयमै सम्मान तथा सहायक सामाग्री, बलान्केट, लगायत स्वास्थ सामाग्री बितरण गर्ने रोकाले जानकारी दिनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै आशा बाल बिकास सेवा सिबिआर सहजकर्ता सन्देश जैसीले अपाङ्गता भएका व्यक्ति विरुद्ध हुने भेदभाव अन्त्य गरी उनीहरुको नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सम्मान गर्न तथा अपाङ्गता भएका व्यक्तिलाई सशक्तीकरण गरी नीति निर्माण र विकास प्रक्रियामा सहभागी गराई स्वावलम्बी र सम्मानजनक जीवनयापनको वातावरण सुनिश्चित गर्ने कुरामा सरोकारवाला निकायले जोड दिनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा चौरजहारी नगरपालिका वडा न ४ का वडाअध्यक्ष गोपाल भण्डारी, योजना शाखा प्रमुख सीता थापा, चौरजहारी अपाङ्गता पुनःस्थापन केन्द्रका अध्यक्ष उमादेबी सुनार आशा बाल बिकास सेवा सिबिआर सहजकर्ता सन्देश जैसी लगायतको आथित्यता रहेको कार्यक्रमको सन्चालन महिला बिकास सहायक निरीक्षक रोकायले गर्नु भएको थियो ।