रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा संचालित बिजयश्वरी चौरजहारी सुख्खा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी महशुल ई-सेवा मार्फत भुक्तानी गर्न सकिने प्रक्रिया थालेको छ ।
एक घर एक धाराको नीति अनुसार लिफ्ट प्रबिधि मार्फत चौरजहारी नगरपालिकाको वडा नं. १,२ र ३ लगाएतका वडामा खानेपानी सुबिधा दिदै आएको संस्थाले उपभोक्ताको सुबिधालाई ध्यानमा राख्दै “डिजिटल पेमेन्ट” सेवा सुरु गर्न लागेको संस्थाका अध्यक्ष तेज बहादुर बटालाले जानकारी दिनुभयो ।
प्राबिधिक र कागजी प्रक्रिया मिलाउन बाकी रहेको र प्रक्रिया मिल्ने बित्तिकै खानेपानी महशुल ई-सेवा बाटै भुक्तानी गर्न सकिने खानेपानि संस्थाको भनाई छ। प्रक्रिया मिलानका लागि १० गते देखि १७ गते सम्म कार्यालयमा हुने नगद कारोबार बन्द गरिएको एक सूचना जारी गर्दै संस्थाले जानकारी दिएको छ।
उपभोक्तालाई महशुल बुझाउन कार्यालयमा पुगेर लाईनमा बस्नुपर्ने झन्झट तथा आर्थिक पारदर्शिताको कुरालाई ख्याल गर्दै ई-सेवा मार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाउन लागिएको व्यवस्थापक बसन्त भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सेवाग्राहीले आउदो मंसिरदेखि यो सेवा प्रयोग गर्न पाउने छन । हाल यि तिन वडाका १३५० घरधरीले खानेपानी प्रयोग गर्दै आएका छन ।










