कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले विकास निर्माणका योजनाका काम गर्दा प्रभावकारी र जनतालाई महशुस हुने गरी गर्न निर्देशन दिनुभएको छ । शनिबार रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पार्टी कार्यकर्ता तथा जनप्रतिनिधिहरुसंग शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा मन्त्री शर्माले यस्तो निर्देशन दिनुभएको हो ।

मन्त्री शर्माले आफुले अर्थ मन्त्रालय सम्हाले पछी रुकुम पश्चिम जिल्लालाई विशेष रुपले हेरेको बताउनु भयो । रुकुमका लागि आफुले विषेश रुपमा सल्ली चौरजहारी सडक स्तरोन्नती¸ चौरजहारीमा प्रहरी तालिम केन्द्र स्थापना¸ सल्यान – चौरजहारी सडक¸ झुल्नेटा राडी सडक आदि जस्ता महत्वपूर्ण योजना अघि सारेको बताउनु भयो । त्यस्तै शहिद परिवारलाई मासिक भत्ता उपलब्ध गराउने¸ शहिदका छोराछोरीलाई डिप्लोमा तह सम्म निशुल्क पठनपाठनको व्यवस्था गरेको समेत बताउनु भयो । मन्त्री शर्माले जनताका थुप्रै आवश्यकता पूरा भएता पनि प्रतिगमनकारी र यथास्थितिबादी शक्तिले निस्तेज गर्न खोजेकाले त्यस्तो हुन नदिने समेत बताउनुभयो ।
कार्यक्रममा सानीभेरी गाउँपालिका भित्रका प्रत्येक वडाका नेता हरुले सरकार र पार्टीले गरेका कामहरुका साथै गुनासो समेत राखेका थिए । सरकार र पार्टीको गति र उपलब्धीको बारेमा पनि कार्यक्रममा छलफल गरिएको थियो ।
सानीभेरी गाउँ कार्यपालिकाको हलमा भएको कार्यक्रममा सानीभेरी गाउँपालिका अध्यक्ष¸ वडा अध्यक्षहरु¸ पार्टीका प्रमुख व्यक्तीहरु¸ भातृ संगठनका प्रमुखहरु तथा पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।









