म नेकपा एमालेको संगठित सदस्य भएको समय १० बर्ष भएको छ । जानी नजानी सानै उमेरमा म एमालेको कार्यकर्ता हुन पुगेकी थिए । आज मैले थुप्रै चुनौती पार गर्दैगर्दा यतिवेला खुशी कम, दुखी धेरै हुन पुगेकी छु । हामी जस्ता लाखौं कार्यकर्ताको भविश्य माथि केपी शर्मा ओलीले खेलवाड गरेका छन् । बर्वाद बनाएका छन् । निरंकुशता लादिरहेका छन् ।
मेरी आमाको कोखमा तथा गर्भमा हुदा देखि नै मैले नेकपा एमालेको सुगन्ध पाउदै आए । नेकपा एमालेमा म र मेरी आमाको रगत र पसिना मिसिएको छ, किनकी ? म मेरी आमाको कोखमा हुने बेलामै मेरी आमा नेकपा एमालेको (सिपाही) संगठित सदस्य हुनु हुन्थ्यो । मलाई त्यो पलको राम्रो सम्झना छ, जुनवेला नेकपा माओवादीले संचालन गरेको १० बर्षे जनयुद्धको वेला बुवा नेकपा एमालेको गाउँ कमिटी सचिब हुनु हुन्थ्यो । मेरो घरमा माओवादी साथीहरु बास बस्न र खाना खान मात्र आएनन्, पैसा पनि माग्ने गर्दथे । बुवालाई गाली गर्दथे । बुवालाई कहिले कतै, कहिले कतै माओवादीहरुले आफुसंगै जबरजस्ती लिन्थे । यिनीहरुले मेरो बुवालाई किन यसो गरीरहेका होलान ? भनेर मेरो मनमा सधैभरी प्रश्न उब्जी रहन्थ्यो । एक दिन मैले मेरी आमालाई सोधेपछि बल्ल मलाई थाहा भयो कि, एमाले भएकै कारण माओवादीले बुवालाई दुःख दिएका रहेछन । मलाई राम्रोसंग याद छ त्यतिवेला मेरो बुवाले नेकपा एमालेका दस्तावेज, बैठकका माईनुट र अन्य प्रमाणहरु परालको कुन्यौं भित्र लुकाएर राख्नु हुन्थ्यो । माओवादीले भेटाएर जलाउन नसकुन भनेर बुवाले नेकपा एमालेको संगठनको ईतिहास बचाएका बहादुर बाबाकी छोरी थिए म ।
बाला पनमै मेरा शरिरका रत्त केशिकाहरुमा नेकपा एमाले घुसि सकेको हुदा पनि म ठुली भएपछि नेकपा एमाले पार्टीमै जोडिन पुगे । मेरो घरमा आउने बुवाका प्राय साथीहरु नेकपा एमाले पार्टीकै हुन्थे । सानैदेखि म बोली हाल्ने, ठुलो मान्छेको छेउमै बसेर कुरा सुन्ने बानी र स्वभाव भएको हुनाले बुवाहरुको कुरा खुबै ध्यान दिएर सुन्ने गर्दथे । बुवाहरुले आपसमै गरेको कुरा सुनेरै म नेकपा एमालेको विचार, सिद्धान्त र संगठनमा जोडिन पुगे । म त्यतिवेला कक्षा ९ मा अध्ययन गर्दै थिए । सुर्खेत क्याम्पस देखि हाम्रो विद्यालयमा अनेरास्ववियूको इकाई गठन गर्न विद्यार्थी नेता आउनु भएको थियो । अनि त्यतिवेला नै म पनि अनेरास्ववियूको इकाई कमिटीमा औपचारिक रुपमा संगठित भएकी थिए । अनेरास्ववियूको इकाई कमिटीमा संगठित भएर सुरु गरेको राजनैतिक यात्रालाई मैले निरन्तर रुपमा जारी राखेकै थिए । मलाई मिति थाहा नभए पनि समय र परिवेशको राम्रो याद छ, जतिवेला सुर्खेत पश्चिमको बाबियाचौरमा युवा संघको जिल्ला सम्मेलन थियो । हामीलाई हाम्रो गाउँबाट प्रतिनीधि बनाएर त्यस जिल्ला सम्मेलनमा सहभागी गराईएको थियो । जतिवेला महेश बस्नेत युवा संघको केन्द्रीय सदस्य हुनु हुन्थ्यो । उक्त जिल्ला सम्मेलनले मलाई युवा संघको जिल्ला सदस्यमा मनोनित गरेको थियो । बिद्यार्थी राजनीतिलाई मोडेर मैले युवा संघमा जोडिएर युवा संघको संगठन निर्माण, गठन, पुनर्गठन, भेला, प्रशिक्षण गर्दै जिल्लाका धेरै गाउँ बस्तीहरुमा पुगेकी छु । यसै क्रममा २०७० सालमा सम्पन्न भएको युवा संघ, सुर्खेतको जिल्ला सम्मेलनमा मैले सह–सचिबको दावी गरेकी थिए । सह–सचिब पद प्राप्तीकै लागि ब्याचुलर तेस्रो बर्षको परीक्षा दिन छोडेर म युवा संघको जिल्ला सम्मेलनमा सहभागी भएकी थिए ।
युवा संघ सुर्खेतको पार्टी फ¥याक्सन ईन्चार्ज कविन्द्र कुमार केसी र युवा संघको सुर्खेत ईन्चार्ज प्रकाश सारु मगरको मिलेमतोमा मलाई जिल्ला कमिटीको सह–सचिब हुनबाट रोक्ने काम भयो । मसंग कुनै छलफलनै नगरी मैले दावी गरेको सह–सचिब पदमा मेरो नाम हटाएर उहाँहरुले आफु निकटको मान्छेलाई राख्नु भएछ । त्यतिवेला म पार्टी भित्रको बिचार समुहका हिसाबले केपी ओलीकै विचार समुहमा थिए । त्यतिवेला मैले संगठनमा गरेको योगदान र खेलेको भुमिकालाई कविन्द्र कुमार केसी र प्रकाश सारु मगरले नजिकबाट बुझि राख्नु भएको छ, अध्ययन गरिरहनु भएको छ भन्ने मलाई विश्वास लागेको थियो । मैले उहाँहरुको विश्वास गरेकी थिए । भरोसा राखेकी थिए । मैले उहाँहरुसंग राखेको भरोसा र गरेको बिश्वास नकाम सिद्ध भएपछि मैले पनि उहाँहरुलाई जीवनभरी भरोसा र विश्वास दिलाई राख्न सक्ने भई रहन सकिन । मैले गरेको यहि सानो बिद्रोहले मलाई पार्टी संगठन भन्दा पनि केपी ओली विचार समुहका मान्छेहरु देखि खान नसक्ने बनाएको थियो । त्यतिवेलाका तत्कालिन पार्टी अध्यक्ष नवराज रावतलाई फोन गरेर संगठन भित्र आफुलाई गरिएको अन्यायका बिषयमा अबगत गराएकी थिए । मैले अबगत गराएको बिषयमा पार्टीले पनि कुनै ध्यान नदिएपछि झनै म डिप्रेशन जस्तै हुन पुगे ।
राजनीति एउटा नसा रहेछ । समाजसेवाको लागि राजनीति जनतासंग जोडिने एउटा माध्याम पनि रहेछ । तसर्थ तत्कालिन युवा संघको सुर्खेत जिल्ला सम्मेलनले मलाई राजनीतिबाट बिमुख बनाएको भएता पनि म राजनीतिबाट टाढा रहन सकिन र म निरन्तर राजनीतिकै बाटोमा अहिलेसम्म अघि बढि रहेकी छु । हाल म नेकपा एकीकृत समाजवादी पार्टीको गुर्भाकोट नगर कमिटीको सचिबमा रहेर राजनैतिक काम गरी रहेकी छु भने, युवा संघ नेपालको स्थायी कमिटी सदस्य पदमा रहेर राजनैतिक यात्रालाई अगाडी बढाई रहेकी छु ।