दुई चार बर्ष अघि चौरजहारीमा खानेपानीको समस्या धरानको भन्दा कयौं गुना बढी बिकराल थियो । चौरजहारी बजारका बासिन्दाहरुले भेरी नदिको दूषित पानी बोकेर पिउन बाध्य थिए भने उच्च लेकाली बस्तीहरुमा घण्टौँ लगाएर एक गाग्री पानी ल्याउने स्थिति थियो ।

तर विशाल शर्मा नेतृत्वको प्रथम नगर सरकारले दीर्घकालीन सोचका साथ लिफ्ट प्रबिधिबाट युद्धस्तरमा चौरजहारी बजार र लेकाली बस्तीका सम्पूर्ण घरहरुमा शुद्ध खानेपानीको धारामा नियमित पानी कलकल बगाइरहेको छ।यो सर्वाधिक चुनौतीपूर्ण र क्रान्तिकारी कार्य थियो । नेपालमै प्रथमपटक प्रथम चौरजहारी नगर सरकारले सफलतापूर्वक सस्तो भाडादरमा नगर बस सेवा सञ्चालन गर्यो जसमा सहिद परिवार,घाइते, अपांग र बृद्धहरुलाई निशुल्क सेवा दिएको छ।

टिनका छाना मुक्त विद्यालय महाअभियान आफ्नै कार्यकालमा शुरु गरि करिब सम्पन्न समेत गर्न सफल भयो । नगर प्रहरी सेवा र नगर अस्पताल सञ्चालन गर्यो।विद्यार्थीलाई निशुल्क पोषाक र कापीकलम उपलब्ध गरायो । विद्यालयका निजीश्रोतका शिक्षकलाई आफ्नो दायित्वमा ल्यायो र स्कुललाई अनावश्यक आर्थिक बोझबाट मुक्त गरायो ।

हाम्रा सबै बजार र प्रमुख सडकमा रातमा समेत सडक बत्तीले झिलिमिलि भइरहेका छन। केन्द्रीय बिधुत प्रसारण को लाइन करिब सबै वडामा पुगेको छ र केही घरहरुमा जोड्ने काम जारी छ। आफ्नै नगर एम्बुलेन्स सेवा सञ्चालनमा आयो। प्राय सबै वडा भवन, प्रत्येक वडामा स्वास्थ्य भवन तथा सेवा र सुबिधासम्पन्न अत्याधुनिक नगर कार्यपालिकाको भवन निर्माण गर्यो।सम्पूर्ण वडा र वस्तीमा सडक सञ्जाल विस्तार गर्यो। यस्ता थुप्रै कामहरू प्रथम नगर सरकारले सम्पन्न गर्यो र जसलाई बर्तमान नगर प्रमुख पुष्प बादी नेतृत्वको दोस्रो नगर सरकारले पनि थप प्राथमिकतामा राखेर निरन्तर अघि बढाइरहेको छ।

यस्तो चमत्कारिक काम फत्ते गर्ने विशाल शर्मा स्वयंले पनि आजसम्म यो- यो काम मैले गरें भनेर कही कतै फेसबुक, टिकटक आदिमा लेखेको र बोलेको मैले देखेको र सुनेको छैन ।हामी चौरजहारीका बासिन्दा र पत्रकारहरुले पनि यस्को चर्चा कहिल्यै गरेनौं ।

किन गरेनौं ? नजिकको तीर्थ हेलाँको भएर हो या विशाल शर्मा र उहाँको नेतृत्वको सरकार प्रति पुर्वाग्रही भएर हो ? आज जति बालेन र हर्कको चर्चा छ त्यो भन्दा धेरै गुणा बढी चर्चा चौरजहारीका प्रथम नगर प्रमुख विशाल शर्माको हुनुपर्ने होइन र?