पन्ध्रौं शताब्दीबाट सुरु भएको युरोपियन देशहरूको समुद्री यात्रा अभियानले अठारौं शताब्दीको मध्यसम्म आइपुग्दा यसमा सहभागी लाखौं सदस्य गुमायो । सुरुमा थकान सुरु हुने, उदासीनता बढ्ने, विस्तारै गिजा सुन्निने, तन्तुहरू टुट्नुका साथै आन्तरिक रक्तस्राव, हड्डी कमजोर हुने, दाँत झर्ने र अन्त्यमा मृत्यु हुने समस्या सामान्य जस्तै हुन थाले । पानीजहाजमा सवार समुद्री यात्राका सदस्यहरू विशेष सुविधाका बावजुद आधा संख्यामा पनि जीवित फर्कन कठिन थियो ।

पानीजहाजको समुद्री यात्रा निस्कनु भनेको एक किसिमको युद्धमा निस्कनु जस्तै थियो । जीवित आउने वा यात्रामै इहलीला समाप्त हुने कुनै निश्चित हुँदैनथ्यो । अज्ञात कारणले जीवन अन्त्य हुने भएकाले निराकरणका उपाय थाहा थिएन । बाँच्नु, मर्नु भगवान् भरोसा थियो ।

कुनै समस्या आफ्नो ज्ञानको दायराभन्दा बाहिरको कारणबाट सिर्जित छ भने मानिस कुनै अदृश्य शक्तिलाई दोष दिन्छ वा भरोसा गर्छ । यात्रामा ज्यान गुमाउनेका सहयात्री, परिवार र समाजलाई सायद त्यसरी चित्त बुझाउनुको विकल्प थिएन ।

तिनताका समुद्री यात्रा केवल गन्तव्यमा पुग्ने बाटो मात्र होइन, नयाँ अन्वेषण, स्रोतहरूमा नियन्त्रण र नयाँ उपनिवेश कायम गर्ने माध्यम पनि थियो । यस्ता यात्रा युरोयिन उपनिवेशवादीहरूको चासो र प्राथमिकता हुने नै भयो । यसका बावजुद पनि ठूलो सङ्ख्यामा हुने समुद्री यात्रीको मृत्युको कारण पहिचान र निराकरण हुनसकेको थिएन ।

सन् १७४७ तिर ब्रिटिश चिकित्सक जेम्स लिन्डले आफ्नो परीक्षणबाट यस्तो समस्या अमिला फलफूलको पर्याप्त उपभोगबाट घटाउन सकिन्छ भनेर दाबी गरे यद्यपि यसको विश्वसनीयता प्रमाणित हुनसकेको थिएन । उनले आफ्नो परीक्षणको वैधता कायम गर्न सकेका थिएनन् ।

यसै क्रममा क्याप्टेन जेम्स कुकले नेतृत्व गरेको विभिन्न क्षेत्रका विज्ञ सहितको जम्बो टोली सन् १७६८ मा अध्ययन यात्रामा निस्कियो समुद्री यात्रुको मृत्युको कारण र समाधानको उपाय खोज्न । तीन वर्षको यात्रा पश्चात् धेरै नयाँ कुरा पत्ता लगाएर फर्कियो ।

यस पटक यात्रामा यात्रीलाई पहिलेका नौका यात्रीले खाने खानाको अतिरिक्त पर्याप्त मात्रामा फलफूल र तरकारी समावेश गरिएको थियो । परिणाम चामत्कारिक थियो, यस यात्रामा सबै यात्री जीवित फर्किए ।

जेम्स लिन्डले दिन नसकेको परीक्षणको परिणामको वैधता कुकले दिए यद्यपि उनी कुनै पोषण विज्ञ वा वैज्ञानिक थिएनन् । उनी राज्यले उच्च प्राथमिकता दिएको भूगोल, अन्तरिक्ष र उपनिवेश सम्भावना खोज गर्ने शक्तिशाली टिमको नेतृत्व गरेका क्याप्टेन थिए । त्यसैले उनले सिफारिस गरेका निष्कर्ष राज्य शक्तिले वैधता दिने नै भयो ।

पछि सन् १९३१ मा पत्ता लाग्यो– त्यो समस्याको कारण भिटामिन सी अर्थात् एस्कर्भिक एसिडको कमि हुनु थियो । उक्त सूक्ष्म खाद्यतत्वको कमिका कारणले एस्कर्भी भन्ने रोग लागेर त्यति धेरै समुद्री यात्रीको ज्यान गएकोे रहेछ ।

मानिसको शरीरमा भिटामिन लामो समय भण्डारण गरेर राख्ने संयन्त्र हुँदैन । यसैले भिटामिनको स्रोत तरकारी र फलफूल बढीमा ३ महिनासम्म सेवन गरिएन भने एस्कर्भी लाग्न सक्छ । अहिले पनि अमेरिकामा करिब ७ र उत्तरी भारतमा ७३.९ प्रतिशतसम्म भिटामिन सी कमि भएको जनसंख्या विद्यमान छ । यसो हुनुमा भिटामिनयुक्त खानाको कमि, मद्यपान र मोटोपना मुख्य जिम्मेवार छन् ।

यो प्रसङ्ग यहाँ उठान गर्नुको तात्पर्य एउटा मात्र सूक्ष्म खाद्य तत्वको कमिले मानव स्वास्थ्य र समग्र समाज तथा राज्यमा समेत कस्तो प्रभाव पार्दो रहेछ अनि त्यसका लागि लक्षित, योजनबद्घ र दीर्घकालीन सोचका साथ अगाडि बढ्न नसक्दाका दूरगामी असर के हुन्छन् भन्ने दृष्टान्त देखाउनु हो ।

कुरा सामान्य लाग्छ– खानामा तरकारी र अमिलो फलफूल समावेश गर्नु कत्रो ठूलो कुरा हो र ? अमिलो जातको फल मात्र समावेश भएको भए पनि जेम्स कुक भन्दा पहिले २० लाख बढी समुद्री यात्रीले यात्रामा अकालमै ज्यान गुमाउनुपर्ने थिएन ।

आज प्रविधिको धेरै विकास भइसकेको छ । रोग र अन्य स्वास्थ्य समस्याको तत्कालिक कारण सजिलै पत्ता लाग्छ । पत्ता लागेपछि तत्कालका प्राविधिक समाधान पनि उपलब्ध छन् तर त्यसलाई नियन्त्रण गर्ने अलिपरका अन्तरनिहित कारणहरू छन् या त ती समस्याको उपयुक्त निदान हुनसकेको छैन या निदान भएर पनि समाधान खोज्न सकिएको छैन । त्यसैले कुषोषण व्याप्त छ ।

त्यसैगरी यस प्रसङ्गमा अर्को महत्वपूर्ण सन्देश छ । पोषण उपलब्धि विशुद्घ प्राविधिक विषय होइन । आजको विश्वव्यापीकरणको जमानामा यो बढी सामाजिक र राजनीतिक विषय हो । यदि यो विशुद्घ प्राविधिक पक्ष हुँदो हो त जेम्स लिन्डले अमिलो जातका फलफूल र तरकारीको सेवनले समुद्री यात्रीमा देखिएको त्यो बेलाको अज्ञात रोग लाग्दैन भनेर पहिचान गरेको समाधानको वैधता, उपयोग र प्रचारमा अर्को दुई दशक कुर्नुपर्ने थिएन ।

आयातित सबै राम्रो र आफ्नो स्थानीय नराम्रो ठान्ने र सभ्य देखिन बाहिरको सामान तथा अभ्यास गर्ने सुकुलगुन्डे प्रवृत्ति हरेक समुदायमा छ, स्वरूप मात्र फरक हुन्

त्यसैगरी त्यसपछिका सयौं युद्घ, नाकाबन्दी र खाद्यान्न ओसारपसारमा रोकका कारण अर्बाैं निहत्था नागरिक भोकमरी र कुपोषणको शिकार हुनुपर्ने थिएन ।

पोषण उपलब्धि हासिल गर्नु अहिलेको बजार नियन्त्रित विश्वमा अझ बढी राजनैतिक विषय हो किनकि अहिले सबै मानिसलाई चाहिने पोषण उत्पादन भइरहेको छ तर राजनीतिक कारणले कोही मानिस अधिक पोषणका मारमा छन् भने गरिब र सीमान्तकृत समुदायका मानिसहरू कुपोषणको सिकार भएका छन् । अहिले यातयातको सुविधाले विश्वको एक कुनामा उत्पादन भएको पोषण अर्को कुनामा सजिलै पुर्‍याउन सकिन्छ र न्यायिक शासन पद्घति भए त्यो असम्भव पनि होइन तर त्यस्तो हुनसकेको छैन ।

शक्ति र सम्पत्तिको खेलमा गरिब राष्ट्र र समुदाय युद्घको चपेटामा पिल्सिएका छन् । अनि अनेक तगाराहरू सृजना गरेर पोषणमा असमान पहुँच सृजना गरिएको छ । इजरायलले गाजामा गरेको लगातारको आक्रमणले हजारौं हताहती भएका छन् भने युद्घसँग कुनै साइनो नभएका लाखौं महिला, बालबालिका र वृद्घवृद्घाहरू भोकमरी र कुपोषणका कारण नारकीय जीवन गुजार्दैछन् । यो कुनै उत्पादन कमिले भएको भोकमरी र कुपोषण होइन ।

अहिले न्यूनपोषण, अधिकपोषण र सूक्ष्मपोषणका लक्षण थाहा पाउन र तात्कालिक प्राविधिक कारण थाहा पाउन कठिन छैन । के गर्‍यो भने उपचार हुन्छ भन्ने पनि थाहा छ । यसका बावजुद पनि धेरै गरिब मुलुकहरूमा बच्चा र प्रजनन् उमेरका महिलामा कुपोषण पत्याउनै नसकिने गरी उच्च छ । त्यो भित्र पनि सीमान्तकृत र पिछडिएको वर्गमा बढी छ । नेपालकै राष्ट्रिय जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रतिवेदन केलाउने हो भने राजनीतिक हिसाबले पछौटे र विभेदमा पारिएका प्रदेशमा कुपोषणको समस्या बढी देखिन्छ ।

प्रतिवेदन अनुसार कर्णालीका बच्चाहरूमा सर्वाधिक ३६ प्रतिशत बच्चामा पुड्कोपन छ । ख्याउटेपन लुम्बिनीमा सबभन्दा बढी १६ प्रतिशत छ । बच्चाहरूमा कम तौल हुने र प्रजनन् उमेरका महिलामा रक्तअल्पता हुनेमा मधेश प्रदेश अगाडि छ भने ख्याउटेपनमा दोस्रो स्थानमा छ ।

यस्तो अवस्था विद्यमान हुनु राज्यका लागि लाजमर्दो खबर हो । नागरिकको करबाट चल्ने आधुनिक राज्यलाई अवगत हुनुपर्ने हो कि स्वस्थ र तन्दुरुस्त नागरिकको उत्पादकत्व बढी हुन्छ, बढी आर्जन गर्न सक्छ र तब मात्र राज्यले बढी कर आर्जन गर्न सक्छ ।

त्यति दूरदृष्टि भएको भए समस्याको कारण खोजी मुख्य कारण विरुद्घ जुध्नका लागि लक्षित कार्यक्रम तय गर्नुपर्ने हो तर सरकार र सरोकारवालामा त्यस्तो तदारुकता र इच्छाशक्ति देखिएको छैन । छिटपुट भएका प्रयास पनि अन्तरनिहित कारणभन्दा बढी लक्षणमा नै केन्द्रित छन् ।

माथि उल्लेख गरेको समुद्री यात्रीमा एउटा मात्र सूक्ष्म पोषकतत्वको कमिले लाखौंको ज्यान गएको प्रसङ्ग काफी छ एउटा सानो कारणले कति भयावह समस्या निम्त्याउँदो रहेछ भनेर बुझ्नलाई । पहिले जस्तो अहिले कारण नै थाहा नहुने समस्या नरहे पनि त्यसलाई नियन्त्रण गर्ने अन्तिरनिहित कारणको पहिचान र त्यसको समाधान खोज्ने राज्यका लक्षित कार्यक्रम देखिन्न । फलतः अहिले पनि केही क्षेत्र र वर्गमा कुपोषणको समस्या उस्तै छ ।

कुपोषणको तत्कालिक कारण त शरीरमा चाहिने पोषकतत्व उपलब्ध नहुनु हो । पोषण मुख्यतः खानाबाट उपलब्ध हुन्छ । यसलाई आधार मान्ने हो भने तुलनात्मक रूपमा अन्य प्रदेशभन्दा बढी उत्पादन हुने र सहज क्षेत्र भएका लुम्बिनी र मधेशमा किन बढी कुपोषण ? उत्पादनमा आत्मनिर्भर धनी देशहरूमा कुपोषण समस्या नहुनुपर्ने हो । तर सबै देशमा कुनै न कुनै रूपमा छ । सीमान्तकृत समुदायमा उच्च दरमा छ भने विशेषाधिकारयुक्त समुदायमा कम छ ।

समग्रमा पोषण अवस्था सुधार हुन पोषकतत्वको उपलब्धताले मात्र पुग्दैन । यसको उपायका अन्य विभिन्न आयाम पनि त्यतिकै महत्वपूर्ण हुन्छन् । राजनीतिक पक्षले पोषणको उपलब्धता मात्र समस्या सिर्जना गर्ने होइन, शारीरिक तथा मानसिक रूपमा पोषण उपयोग गर्न नसक्ने बनाउँछ । तनावको अवस्थामा मानिसले उपयुक्त रूपमा पोषण ग्रहण गर्न नसक्ने र खाएपछि पनि शरीरले पोषण उपयोग गर्न नसक्ने हुन्छ ।

युद्घ र अन्य प्रकोपले दिने तनावले पनि कुपोषण सिर्जना गर्छ । यस्ता समस्या सामना गरिरहेका मानिसहरूमा कुपोषणको समस्या पोषण उपलब्ध नभए जत्तिकै हुन्छ । पोषणको उपलब्धताले मात्र आम नागरिकमा कुपोषण घट्दैन भन्ने उदाहरणका लागि एउटा प्रसङ्ग बताउन चाहन्छु ।

गएको जनवरीमा पोषण सम्बन्धी अन्तर्राष्ट्रिय नागरिक संस्थाहरूको सञ्जालले विभिन्न महादेशलाई प्रतिनिधित्व गर्ने गरी १४ देशका डेलिगेटहरूको भियतनाममा अन्तरदेशीय सिकाइ कार्यक्रम राखेको थियो । त्यसै सिलसिलामा भियतनामको राष्ट्रिय सभामा जनजाति मामिला हेर्ने उपनिर्देशक ट्रियु भान विन्हले अल्पसंख्यक जनजातिका लागि न्यायिक पोषण वित्त प्रवाह सम्बन्धी प्रस्तुति दिंदै सरकारले पोषण सुधारका लागि गरेका लक्षित र सकारात्मक प्रयासहरूबारे विस्तार गरे ।

भियतनामले कुपोषण घटाउने क्षेत्रमा पछिल्लो दुई दशकमा गरेको प्रगतिको चर्चा गरे । करिब १९ प्रतिशत बच्चामा पुड्कोपना, ४ प्रतिशतमा ख्याउटेपन र ११ प्रतिशत कम तौल भएको जानकारी गराउँदै भने, ‘यो हाम्रो पछिल्लो दुई दशकको उल्लेखनीय उपलब्धि हो । समस्याको समाधान गर्दै गयो नयाँ प्रकृतिका चुनौती थपिदै जाँदा रहेछन् । न्यूनपोषण र सूक्ष्मपोषणको समस्यासँग जुध्दै गर्दा अधिकपोषणको समस्याले ११ प्रतिशत जनसंख्या छोपिसक्यो ।’

त्यसैगरी समग्र जनसंख्यामा न्यूनपोषण उल्लेखनीय रूपमा घटे पनि १५ प्रतिशत जनसंख्या भएको अल्पसंख्यक आदिवासीमध्ये ३२ प्रतिशतमा कुपोषण व्याप्त छ । सरकारले यो समुदायको कुपोषण घटाउनलाई छुट्टै राष्ट्रिय लक्षित कार्यक्रम मार्फत शिक्षा, स्वास्थ्य तथा अन्य पोषण सेवा र सुविधा निःशुल्क हुने गरी थुप्रै सहुलियत कार्यक्रम सञ्चालन गरिरहेछ ।

आफ्नो प्रस्तुतिको अन्त्यमा विन्हले डेलिगेटहरूसँग पृष्ठपोषण माग्दै भने, ‘तर सरकारको ठूलो लगानी र लक्षित प्रयासका बावजुद पोषणमा सुधार ल्याउन सकिएको छैन । ती समुदायका लागि स्वास्थ्य र पोषणका सबै सेवा–सुविधा निःशुल्क र उनीहरूको ठाउँमै दिंदा पनि उपयोग गर्न मान्दैनन् । तपाइँहरूकै देशमा पनि यस्तो समस्या होला र समस्या समाधानका उपाय बारे यहाँका आफ्नै सिकाइ पनि होलान् । यसलाई सुधार गर्न यहाँहरूसँग केही सुझाव छ कि ?’

पितापुर्खादेखि संसारभरि नै पोषणयुक्त खाना पोषणको स्रोत मात्र होइन यो पहुँच र उपभोगमा असमान शक्ति प्रदर्शनको सूचक, कूटनीति, सम्बन्धको विस्तारको आधार, वर्ग विभेद र सामाजिक प्रतिष्ठाका आधार बनेको छ । त्यसैले पोषण लक्ष्य प्राप्ति अहिलेको अवस्थामा प्राविधिक भन्दा राजनीतिक र सामाजिक विषय बनेको हो

गाउँदेखि केन्द्र सरकारका हरेक निकाय पोषण लक्ष्य प्राप्त गर्ने राष्ट्रिय लक्षित कार्यक्रमप्रति प्रतिबद्घ देखिन्थे । राष्ट्रिय लक्षित कार्यक्रमको उद्देश्य स्पष्ट छ– कुपोषणको समस्या भएका अल्पसंख्यक आदिवासीहरूको पोषण अवस्था सुधार्ने । सरकारका हरेक अवयव लक्ष्य प्राप्त गर्न दृढ भएर लागेको देख्दा लाग्थ्यो यस्तो पो सरकार । सरकारका कार्यक्रम यति स्पष्ट, न्यायिक र लक्षित देख्दा सरकार अत्यन्त जिम्मेवार भएको प्रतीत हुन्थ्यो ।

सुझाव दिने क्रममा मेरो पालो आयो । डा. विन्हले दिएको प्रस्तुति सुन्दा लाग्थ्यो सरकारले लक्षित कार्यक्रम मार्फत पोषण उपलब्धतामा कुनै कसर बाँकी राखेको छैन । गाउँसम्म पुगेर हेर्दा स्वास्थ्य र पोषण सेवा अत्यन्त सहज तथा सुलभ थियो । यसको बावजुद पोषण अवस्थामा समस्या हुनु भनेको लक्षित सेवाग्राहीले सही हिसाबले प्रयोगमा नल्याउनु भन्ने स्पष्ट थियो ।
खराब पोषण व्यवहारका कारणले विपन्न र सम्पन्न परिवारका सदस्य समेत कसरी कुपोषित हुन्छन् भन्ने नेपाल र बंगलादेशका केही अनुभव सुनाउँदै व्यवहार सुधारमा जोड दिन आग्रह गरें । गाउँ तहका पोषण क्लबका अल्पसंख्यक सदस्यसँगको छलफल गर्दा पनि पोषण व्यवहार सुधार गर्न धेरै काम गर्नुपर्ने देखिन्थ्यो । समुदाय भेटमा आफूले देखेका तथ्यहरू सहित दिएको सुझाव मनासिव लाग्यो सायद यो पक्षलाई आगामी कार्यक्रममा राख्ने प्रतिबद्घता सहित विशेष धन्यवाद टक्र्याए ।

पोषण आवश्यक मात्रामा उपलब्ध भए पनि यसलाई उपयोग गर्नका लागि शारीरिक अवस्था राम्रो छैन भने पोषणयुक्त खाना खाँदैमा कुपोषण घट्छ भन्ने हुँदैन । खाएको खानालाई पाचन गरेर शरीरलाई चाहिने मात्रामा ग्रहण गर्न सक्ने क्षमता नभए पोषणयुक्त चौरासी व्यञ्जन सधैं उपलब्ध भएर पनि अर्थ भएन । त्यसैले शारीरिक स्वास्थ्य पोषण सुधारको महत्वपूर्ण पाटो भयो ।

भियतनाम सरकारले यस तथ्यलाई आत्मसात् गरेर सहज र सुलभ स्वास्थ्य सेवाको लागि स्थानीयस्तरसम्म प्रणाली र संयन्त्र राम्रोसँग विस्तार गरेको देखिन्थ्यो । तर कमजोरी शारीरिक स्वास्थ्यको पाटोमा पनि थिएन । राम्रो पोषणका लागि महत्वपूर्ण तर त्यति महत्व नदिएको सामाजिक पाटो सामाजिक पक्ष हो ।

पोषणको उपलब्धता र शारीरिक स्वस्थ तथा तन्दुरुस्ती मात्र कुपोषण घटाउन पर्याप्त हुँदैन । त्यसो हुँदो हो त धनी परिवारमा कुपोषण नहुनुपर्ने हो । समृद्घ देशमा कुपोषण समस्याको रूपमा नहुनुपर्ने हो । साथै नेपालको उत्पादन र सुगमताका हिसाबले अन्य प्रदेशभन्दा राम्रो मधेश प्रदेश अन्य प्रदेशको तुलनामा पोषण अवस्थामा यतिविधि कमजोर नहुनुपर्ने हो । लुम्बिनी प्रदेशमा सबभन्दा बढी ख्याउटेपन नहुनुपर्ने हो ।

पोषण उपलब्धिका लागि सामाजिक कारण पनि विविधीकृत पोषणको उपलब्धता र शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ । भियतनाममा सञ्चालित लक्षित कार्यक्रम सञ्चालन भएका क्षेत्रको अवलोकन गर्दा महसुस गरेको कमि पनि त्यही हो ।

पोषणका बारेमा राम्रो थाहा पाएका शिक्षित व्यक्तिहरू फलफूल, तरकारी र अन्य पोषण खाना मनै नगर्ने तर पानीपुरी, चटपटे, चाउचाउ र अन्य अल्ट्रा कुक तथा स्वाद थपिएका पत्रु खाना खाने व्यक्ति हामीले आफ्नै वरिपरि धेरै देखेकै छौं । बच्चाहरूको त झन् कुरा नगरौं । उपभोक्ताको यही स्वभावका कारण आजकल खाद्य कम्पनीहरू स्वास्थ्यलाई हानिकारक हुने पदार्थहरू हालेर (अ)खाद्य पदार्थ बजारमा बिक्री गरी नाफा कमाइरहेका छन् ।

यो एक किसिमको चक्र जस्तै छ । कम्पनीहरू उपभोक्ताको खाने बानी र रुचाउने स्वादको अध्ययन गरेर आफ्ना उत्पादन गर्छन् । पछि आफ्नै स्वादमा उपभोक्ताको लत बनाइदिन्छन् । बजार नियन्त्रित र निर्देशित खाद्य प्रणालीमा उपभोक्ताको खाद्य स्वभावले खाद्य प्रणाली निर्धारण गर्छ, उत्पादकले गरेको उत्पादनले होइन । यही कारणले खाद्य कम्पनीहरू सोही अनुसारको उत्पादन र बजार रणनीति तय गर्छन् अनि आफ्नो उत्पादन बजारमा बिक्री गराइछाड्छन् ।

अल्ट्रा कुक पत्रुखाना उत्पादन गर्ने कम्पनीहरूलाई थाहा छ-उपभोक्ताको खाने व्यवहार प्राकृतिक खानाबाट कसरी कृत्रिम खानामा मोड्न सकिन्छ । सोही अनुसारका स्वादहरू थपिदिन्छन् फलतः पेट अघाए पनि जिब्रोले स्वाद मागिरहन्छ, त्यही स्वादको लत बस्छ । त्यसपछि त स्वास्थ्यका लागि खराब हो भन्ने थाहा हुँदाहुँदै पनि त्यही नै खान मन लागिरहने हुन्छ । स्वास्थ्यको लागि हानिकारक छ भन्ने जान्दाजान्दै लतमा परेपछि धूम्रपान छाड्न नसके जस्तै पोषण बारे बुझेको मानिस समेत यस्ता पत्रुखाना खाइरहेको हुन्छ ।

कम्पनीहरू विभिन्न आकर्षक विज्ञापन निर्माण गर्छन् । समाजका प्रतिष्ठित र सेलिबे्रटी कहलिएकाहरूको सामाजिक प्रतिष्ठा र साखलाई प्रयोग गर्छन् र उत्पादनप्रति आकर्षण तथा विश्वसनीयता बढाएर आफ्ना उत्पादन खानका लागि उत्प्रेरित गर्छन् । कालान्तरमा उपभोक्ताको खाद्य व्यवहार परिवर्तन गरिदिन्छन् । उपभोक्तामा आफ्ना प्राकृतिक उत्पादन तुच्छ र कम्पनीका उत्पादन उत्कृष्ट ठान्ने भावना विकास गराइदिन्छन् ।

गाउँघरमा दूध, दही, मोही जस्ता उत्पादन हुँदाहुँदै पाहुना सत्कारका लागि बजारका बोतलबन्द र प्याकेटबन्द खाना खाएर सभ्य देखिने अभ्यास आजकल बग्रेल्ती देखिन्छ । कालान्तरमा यही अभ्यास खाद्य संस्कृति बन्छ । ग्रामीण बस्ती विशेषगरी सुदूरपश्चिम र कर्णालीका दुर्गम बस्तीमा जाँदा यस्तै भोगेको अनुभव छ । बारीका कान्ला र पाखाहरूका प्रशस्त हरियो सागपात छिचोल्दै घरमा पुर्‍याएर चाउचाउको झोलसँग खाना र कोक जस्ता बोतलबन्द पेय पदार्थ खान दिए । कारण सोध्दा थाहा भयो पाहुनालाई स्तरीय खाना खुवाएको रे !

पोषणको तेहरो बोझ कम गर्न विविधीकृत पोषण उपलब्ध हुने वातावरण बनाउने, पोषण व्यवहार सुधार गर्न समाज र समुदायस्तरबाट सचेतना जगाउने साथै शारीरिक स्वास्थ्यको लागि स्वास्थ्य, पोषण र तन्दुरुस्ती सेवामा सहज पहुँच हुन आवश्यक छ

आफ्नोमा उपलब्ध भएको प्राकृतिक खाना कमसल र बजारमा उपलब्ध जस्तोसुकै पत्रु खाना होस् उत्कृष्ट ? यो एउटा उदाहरण काफी छ बजारले आम मानिसमा कसरी नकारात्मक अभ्यास र बानीहरूको विकास गराउँदै लैजान्छ भन्नलाई । यस्तो आयातित सबै राम्रो र आफ्नो स्थानीय नराम्रो ठान्ने र सभ्य देखिन बाहिरको सामान तथा अभ्यास गर्ने सुकुलगुन्डे प्रवृत्ति हरेक समुदायमा छ, स्वरूप मात्र फरक हुन् ।

यस्तै प्रवृत्ति गाउँमा मात्र होइन अहिले विकास हुँदै गएको स्वास्थ्य सेवाका क्षेत्रमा अझ बढी छ । बिरामी भएर अस्पताल गयो भने अधिकांश स्वास्थ्यकर्मी पोषणको कमि भएका बिरामीलाई यसको प्राकृतिक स्रोत सेवन गर्न सुझाउनुको सट्टा फार्मेसीमा पाइने संश्लेषित पोषण वा रासायनिक औषधि सिफारिस गर्दछन् । यसको पछाडिको कारण कम्पनीका उत्पादन बिकाएर कमाउने, हाम्रा प्राकृतिक खाद्य तत्वको महत्व थाहा नहुने वा प्रायोजित विशेषज्ञता प्रदर्शन गर्ने हुनसक्छ । हाम्रा पराम्परागत खाद्यशैली पोषणका हिसाबले राम्रा भए पनि आधुनिक देखिन तिनलाई अनुसरण नगर्ने र बजारमा समाधान खोज्ने प्रवृत्ति अझ बढ्दो छ ।

त्यसैगरी पोषण उपलब्धि प्राप्तिका लागि सर्वत्र चुनौती बनेको सामाजिक पक्ष भनेको सामाजिक तथा सांस्कृतिक मान्यताहरू हुन् । धेरैजसो खाना पोषणका लागि जतिसुकै उत्तम भए पनि सांस्कृतिक रूपमा खान हुने, नहुने भनेर वर्गीकरण गरिएको छ । हरेक समाजमा खानेकुरा लिङ्ग, जात र समुदायको हिसाबले खान हुने, नहुने भनेर मान्यताहरू विकास गरिएको छ । यस्ता सामाजिक मान्यताहरू यति धेरै बलियोसँग जरा गाडेका छन् कि सामान्य सचेतनाले तोड्न मुस्किल छ । फलतः पहुँच र उपलब्धताका हिसाबले आफ्नै इलाकामा विविधीकृत पोषणका स्रोत उपलब्ध भएर पनि मानिसहरू खाँदैनन्, त्यसैले कुपोषण व्याप्त छ ।

सामाजिक र सांस्कृतिक मूल्यमान्यताहरू पुस्तान्तरण हुँदै जाने हुनाले यी कारणले सृजना भएका कुपोषण पनि पुस्तान्तरण हुन्छन् । त्यसैले पोषण सुधार छोटो समयमा प्राप्त हुने र एकै क्षेत्रको सुधारबाट प्राप्त हुने उपलब्धि होइन । यस सवालमा पोषणको उपलब्धता र यसलाई ग्रहण गर्न सक्ने शारीरिक क्षमताले मात्र पुग्दैन रहेछ । माथि उल्लेख गरिएको भियतनामका आदिवासी समुदायको समस्या त्यही हो । पोषण र स्वास्थ्य सेवा उपलब्ध भएर पनि सामाजिक, सांस्कृतिक कारणले त्यसलाई उपभोगमा नल्याएपछि कसरी स्वास्थ्य सुधार हुन्छ ?

अरू भन्दा बढी पोषण चाहिने गर्भवती महिला र बालबालिका हुन् । तर त्यही वर्गलाई लक्षित गरेर बनेका सामाजिक, सांस्कृतिक मान्यताहरूले पोषण उपभोगमा तगारा खडा गरेका छन् । महिला रजस्वला, गर्भवती र सुत्केरी हुँदा केही पोषणयुक्त खानामा बन्देज लगाइन्छ । जस्तै, दुग्धजन्य पदार्थ, हरिया सागसब्जी र फलफूल खान हुँदैन भनिन्छ । परिवारमा खाद्य वितरणका परम्परागत नियम छन् जसले बढी पोषण आवश्यक पर्ने अवस्थाका महिला समेतलाई अन्य पहुँचवाला सदस्यका तुलनामा कम उपलब्ध हुने अवस्था सृजना गर्छ ।

यस्ता सामाजिक मान्यताका प्रकृति फरक हुनसक्छन् तर विश्वका सबै समुदायमा छ । खाद्य प्रणाली सम्बन्धी एउटा कार्यक्रममा खाद्य प्रणालीका सामाजिक पाटोमा नेपाल र उत्तरी भारतका सामाजिक मान्यताले पोषणमा भएको असर बारेको मेरो विचारमा बंगलादेशका स्वास्थ्य सचिवले आफ्नो टिप्पणीमा समर्थन जनाउँदै भने, ‘हाम्रो स्वास्थ्य क्षेत्रको एउटा कमजोरी भनेको स्वास्थ्य तथा पोषण उपचार लक्षणमा केन्द्रित हुन्छ, यसको अन्तरनिहित कारणमा पुग्दैन । हाम्रा सेवा दिने प्रणालीहरू त्यसरी नै निर्माण गरिएका छन् । सेवा दिने व्यक्तिहरूको मानसिकता पढाउने शिक्षण संस्थादेखि त्यसरी नै विकास गरिएको हुन्छ ।

उनले उदाहरण दिंदै भने, ‘बंगलादेशको समाजमा महिलाले गर्भवती अवस्थामा खाना धेरै खायो भने बच्चा ठूलो भएर जन्माउन कठिन हुन्छ भनेर धेरै पोषण खान दिइँदैन । जुन समयमा पोषिलो बढी चाहिने हो त्यही समयमा खान नै बन्देज लगाएपछि आमा र बच्चा दुवैमा कुषोषण हुने नै भयो । स्वास्थ्य संस्थामा आएपछि पोषिलो खाना खान उत्प्रेरित गर्नुको साटो औषधीय उपाय सुझाइन्छ ।’

त्यसैगरी ताइवान र भियतनामका ग्रामीण आदिवासी महिला समूहसँगको छलफलमा सहभागीले भने कि गर्भवती र सुत्केरी अवस्थामा हरियो सागपात र फलफूल खाए आमा र बच्चालाई चिसो लाग्छ भनेर खान दिइँदैन । खानालाई चिसो लाग्ने र नलाग्ने गरी दुई वर्गमा विभाजित गरिएको छ । चिसो नलाग्ने वर्गका खाना मात्र गर्भावस्था र सुत्केरी अवस्थामा खान दिने सामाजिक मान्यता रहेछ ।

पितापुर्खादेखि संसारभरि नै पोषणयुक्त खाना पोषणको स्रोत मात्र होइन यो पहुँच र उपभोगमा असमान शक्ति प्रदर्शनको सूचक, कूटनीति, सम्बन्धको विस्तारको आधार, वर्ग विभेद र सामाजिक प्रतिष्ठाका आधार बनेको छ । त्यसैले पोषण लक्ष्य प्राप्ति अहिलेको अवस्थामा प्राविधिक भन्दा राजनीतिक र सामाजिक विषय बनेको हो ।

राज्यले यसलाई राजनीतिक सवाल बनाएर लक्षित रूपमा अगाडि नबढेसम्म र हरेक समुदायमा रहेका कुपोषणलाई बढावा दिने सामाजिक कारण पहिचान नगरेसम्म कुपोषणको लाजमर्दो सूचक विद्यमान रहिरहन्छ ।

पोषणको तेहरो बोझ कम गर्न विविधीकृत पोषण उपलब्ध हुने वातावरण बनाउने, पोषण व्यवहार सुधार गर्न समाज र समुदायस्तरबाट सचेतना जगाउने साथै शारीरिक स्वास्थ्यको लागि स्वास्थ्य, पोषण र तन्दुरुस्ती सेवामा सहज पहुँच हुन आवश्यक छ । यी सबै पक्षको दीर्घकालीन रूपमा सुनिश्चित गर्न समावेशी र न्यायिक खाद्य तथा पोषण प्रणालीको विकास हुन आवश्यक छ ।

#अनलाइनखबरबाट साभार