कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अन्ततः राजीनामा दिएका छन् । आज (बुधबार) प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन् ।

संसद बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष राजीनामा पत्र बुझाउने छन् । यसअघि मुख्यमन्त्री शर्माले मंगलबार संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए । तर, केन्द्रमा सत्तागठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि उनले विश्वासको मतको कार्यक्रम एक दिन पछि सारेका थिए ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनविपरित विश्वासको मत लिने अडानमा रहेका मुख्यमन्त्री शर्मा अन्ततः राजीनामा दिन बाध्य भएका हुन् । सम्बोधनका क्रममा उनले आफूले गरेका उपलब्धिको चर्चा गरेका थिए । उनले केन्द्रको निर्देशनप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन् ।