म पाचौँ सन्तानको रुपमा चौरजहारी नगरपालिका १२ रुकुम (पश्चिम) स्थित डाँसेमारे भन्ने ठाउँमा मिति २०४२ चैत्र २८ गते जन्मेको थिए रे । म जन्मेको ठाउँ जंगलको बिचमा ३ ओटा मात्रै घरहरु थिए । हिउँदमा गहु, मसुरो र बर्षा याममा मकै खेती गरिन्थ्यो। म नजन्मदै हजुर आमाको निधन भएकाले मैले हजुर आमाको स्वरुप समेत महसुस गर्न सकिरहेको छैन । हाम्रो घरमा चार भाइ,चार बहिनीहरु, आमा बुवा अनि हजुरबुवा गरेर ११ जनाको परीवार थियो ।

बुवा प्राय भारतको कालापहाड भन्ने ठाउँमा ज्याला मजदुरी गर्न हिउँद / बर्षा बर्षेनी जाने गर्नुहुन्थ्यो । बुवाको प्रतिक्षामा हामीहरु घरमा महिनौसम्म कुरेर बस्ने गर्थौ ।

बुवाको मायासँगै बुवाले घर फर्केर आउँदा हाम्रो लागि ल्याउने  गुर(भेली) नयाँ लत्ताकपडा, स्याउ,बिस्कुट, मिठाइ लगायतका चिज बस्तुहरुको आसैआसमा हामीहरु महिनौँसम्म बाटो हेरेर बसिरहेका हुन्थौं । कहिलेकाही हाम्रो घरको माथिबाट आकासमा जहाज उडेर जान्थ्यो र त्यो देख्न बितिक्कै जहाजतिर हेरेर ए जहाज मेरो बाबालाई छिट्टै ल्याइदिनुहोला भनेर कराउँने गरेको स्मरण अहिले पनि मेरो मानसपटलमा ताजै रहेको छ ।

 

कहिलेकाही प्रदेशबाट बुवाले पठाएको चिठी त्यहाँबाट घर फर्केका नजिकका आफन्तहरुले घरमा ल्याइदिनुहुन्थ्यो ।  ती  चिठीहरु पढ्न सक्ने हामी भइसकेका थिएनौँ । त्यसकारण बुवाले पठाएका ती चिठीहरु पढिदिनका लागि आमाले कहिले कमैडाँडाका कान्छा दाइ (स्वर्गीय कृष्ण केसी) त कहिले कफलेनीका ठुल्दाइ (इन्द्र बहादुर के सी) लाई बोलाउनु हुन्थो  । दाइहरु चिठी पढनकै लागि भनेर हाम्रो घरमा आउनुहुन्थ्यो र हामीलाई वरिपरि राखेर सबैले सुन्ने गरेर ठूलो आवाजमा दुई/तिन पटक चिठी पढनुहुन्थ्यो । हामी चाहिँ बाबाले पठाएको चिठीमा लेखिएका एक एक शब्दहरु शान्त भएर चुपचाप सुन्थौँ । चिठीमा सञ्चो बिसञ्चोका खबरदेखि लिएर घरमा हामीले गर्नुपर्ने बिभिन्न कामका निर्देशनहरु समेत हुने गर्दथे ।

 

महिनौँपछि बाबा प्रदेशबाट घरमा आउँदा  साह्रै खुसी हुने गरिन्थ्यो । बाबाले ल्याएका स्याउ लगाायतका खानेकुराहरु आमाले हामी सबैलाई दिनुहुन्थ्यो भने छिमेकीहरुलाई समेत आमाले ती खानेकुराहरु अलिअलि भएपनि बाँड्ने गर्नुहुन्थ्यो । बाबाले कालापहाडबाट कहिले टेप (टेप रेकर्डर), कहिले रेडियो त कहिले नयाँ घडी समेत ल्याएर आउनुहुन्थ्यो । बाबाले टेप ल्याएको खबर सुनेपछि गाउँभरिका मान्छेहरु हाम्रो घरमा जम्मा भएर रातभर क्यासेटमा गीत भर्ने (रेकर्ड गर्ने)  र क्यासेटमा रेकर्ड गरिएका नयाँ नयाँ गीतहरु सुन्ने गर्थे । त्यसरी चार/पाँच महिनापछि बाबा घरमा आउँदाखेरि सबैथोक पाए जस्तै गरी हामी खुसीले गदगद हुन्थ्यौँ ।

त्यतिबेला हाम्रो गहुँ,मकै,कोदो, कागुनो जस्ता अन्नबालीहरु उत्पादन हुने पाखो जमिन मात्र थियो । जसले गर्दा हाम्रो घरको भान्सामा धेरैजसो मकैका रोटी पाक्थे भने दालभात र मासु खानाको लागि भने चाडबाडै कुर्नुपर्थो । हाम्रो घरमा मकै र कोदो प्रसस्तै उत्पादन हुन्थ्यो र हामी थोरै धान मकैले साटेर ल्याउथ्यौँ र घरकै ढिकीमा कुटेर भात खाने गर्थौं

एकपटक म कक्षा सातमा पढ्दाखेरि सायद गाउँमा ठूलो भोकमरी परेको थियो । त्यो बेला म बुवा र अन्य छिमेकीहरुको साथमा चामल ल्याउन सल्यानको खरिबोट बजार गय । त्यहिबेला मैले पहिलो पटक ट्याक्टर देखेको थिएँ र त्यहाँबाट मुस्किलले बोकेर  एउटा चामलको थैली घरमा ल्याएको थिएँ। त्यो बेला पुरै दुई दिन लगाएर एक/एक थैली चामल ल्याएर हामी घर फर्केका थियौँ ।

करिब २०५७ सालसम्म हाम्रो घरजग्गा गाउँ र लेक (डाँसेमारे भन्ने ठाउँ) गरेर दुइ ठाउँमा थियो । हिउँदमा हाम्रो बसाइ गाउँ हुन्थ्यो भने बषार्तमा भने लेकमा हुने गर्थो । लेकमा बस्दाखेरी मैले घरमा घाँस काट्ने, दाउरा बनाउने, गाइबाख्रा चराउने, बाँदर हेर्ने जस्ता स-साना कामहरु नियमित जसो गर्थें । लेकमा बस्ने समयमा नै मेरो बाबाले मलाई जनकल्याण मावि जोगिनेटामा कक्षा एकमा भर्ना गरिदिनुभयो । म दुइ/चार महिना नियमित स्कुल गए ।

 

स्कुल जाँदा घरबाटै झोलामा मकैका रोटी,नुन र महि  बोकेर  लगेको सम्झना ताजै छ । हापछुट्टिमा घरबाट लगेको खानेकुरा मज्जाले खाइन्थ्यो । म घरबाट करिब दूई घण्टा टाढाको स्कुल भएपनि म स्कुल जान बानी परिसकेको थिएँ । तर स्कुल भर्ना भएको करिब सात महिनापछि फागुनको महिनामा एक्कासी हावाहुरी सहितको ठूलो असिना पानी पर्यो र त्यसले हाम्रो स्कुलको सम्पूर्ण छानो उडाएर धेरै टाढा लगेर फाल्यो । हामीलाई सरहरुले नजिकैको एउटा घरमा लगेर सुरक्षित राख्नुभयो । त्यो प्राकृतिक बिपतिपछि मैले स्कुल जान छोडे  स्कुल मैले आफ्नो इच्छाले छोडे या धेरै टाढा भएकोले असुरक्षाको महसुस गरेर आमाबुवाले स्कुल जान रोक्नुभयो, त्यो भने मलाइ सम्झना छैन् । त्यसको झण्डै दुई बर्षपछि फेरि बुवाले म ९ बर्षको छँदा हाम्रो गाउँको घरनजिकको स्कुल श्री जनकल्याण माबि सानाखोलामा मलाई कक्षा १ मा भर्ना गरिदिनुभयो । त्यसपछिका दिनमा भने म कहिले घरनजिकैको गाउँको घरबाट त कहिले लेकको घरबाट नियमित स्कुल जानलागे ।

बर्षका ६ महिना म लेकको घरबाट करिब एक डेढ घण्टाको बाटो हिडेर बर्षायाममा जंगली जनावर, खहरे खोलाहरु, सर्प, बाढी पहिरो,जुकाहरु आदिको सामना गर्दै चिप्लो बाटो भएर स्कुल जाने आउने गर्दथे ।

मेरो आमाले हाम्रो पढाइको खुबै ख्याल गर्नुहुन्थ्यो । त्यही भएर उहाँले हामीलाई घरको काममा भन्दा बढि पढाइमा जोड गर्नुहुन्थ्यो । तैपनि बिहान बेलुका त घरको सक्दो काम त गर्नैपर्थो । म नियमित जसो बिहान बेलुका घरमा दाउरा,स्याउला,घाँस ,घट्ट पिस्न जाने गर्थे । घरमा जुन काम गरेपनि मेरो साथमा किताब चाहिँ कहिल्यै पनि छुटेन । भारी बोकेर हिड्दा पसिना तपतप चुहिदा समेत म किताब पढिरहेको हुन्थे ।

हाम्रो घरमा म सानो छँदादेखि नै आदर्णिय शिक्षक श्री नारायण प्रसाद देबकोटा बस्नुहुन्थ्यो भने मेरा मामाहरु पनि पढाइमा अब्बल हुनुहुन्थ्यो । म जनकल्यान मावि सानाखोलामा कक्षा एकमा पढ्दाखेरि त्यहि स्कुलमा कक्षा ५ मा अध्ययनरत काका एकराज शर्मा (हाल मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक) ले एकपटक मेरो अक्षर हेरेर तेरो लेखाइ धेरै राम्रो छ र त एक कक्षामा प्रथम हुन्छस् भनेर भन्नुभयो । उहाँको शब्दबाट प्रभावित भएर म साँच्चिकै प्रथम हुनेगरी पढाइमा झनै मेहनत गर्न थाले । म सानैदेखि धेरै परिश्रम गरेर दिनरात पढ्ने गर्थे । त्यो बेला दियालो, मट्टीतेलको टुकि बालेर राती अबेरसम्म पढ्ने चलन थियो । अन्ततः पछि वार्षिक परिक्षामा साँच्चिकै प्रथम समेत हुन सफल भएँ । यसरी उहाँहरुको प्रभाव र उत्पे्रणाबाट म माथि पढ्ने संस्कृतिको विकास सानैदेखि भएको रहेछ । यहि तरिकाले सबै कक्षामा प्रथमको अनुभवसहित मेरो अध्ययन जनकल्यान मावि सानाखोलामा कक्षा ७ सम्म निरन्तर चल्यो ।

कक्षा सात उतिर्ण गरिसकेपछि भने म श्री हिमालय मावि खोलागाउँ चौफा रुकुममा  कक्षा ८ मा भर्ना भएँ । त्यसबेला देशमा महान जनयुद्ध उत्कर्षमा पुगिरहेको थियो । जनयुद्ध कालमा एकातिर जनकलाकारका गीत संगीत, हतियारसहित मार्चपास गरिरहेका लालसेनाको फर्मेसन, माओवादीका नेता कार्यकर्ताहरुले गर्ने क्रान्तिकारी भाषणहरुले मलाई जनक्रान्तिप्रतिको मेरो मोह बढिरहेको थियो भने अर्कोतिर सरकारी सेना पुलिसका चरम दमन र अन्याय अत्याचार देखेर मेरो मनमष्तिस्कमा निरङ्कुस राज्यसत्ताका बिरुद्ध बिद्रोहको आगो सल्किसकेको थियो । जसको प्रभावले गर्दा हिमालय माविमा अध्ययन गर्दाखेरी नै म भित्रभित्रै तत्कालीन नेकपा माओवादी निकट अखिल क्रान्तिकारी संगठनको एउटा सामान्य सदस्यको रुपमा सक्रियता पुर्वक क्रियाशील भइरहेको थिएँ ।

 

कक्षा ८ को जिल्ला स्तरीय परिक्षा दिइसकेपछि स्कुल छोडेर म कमरेड तारानाथ शर्मासँग घरबाट भागेर स्वःविवेकले १४ बर्षको उमेरमा महान जनयुद्धमा पुर्णकालीन भएर भूमिगत रुपमा सक्रियतापुर्वक सहभागी भइसकेको थिएँ । त्यसपछिको मेरो बाँकि बाल्यकाल प्युठानी भूमिमा आवश्यकता अनुसार संगठन, जनकलाकार, साहित्यकार, लेखक, लडाकु, स्वयंसेवक, भरिया आदि सबै भूमिका बहन गर्दै महान जनसंघर्षको भट्टीमा वितेको थियो । यसरी मेरो बाल्यकाल रोग,भोग र बम बारुदको धुवाँको मुस्लोसँगै कठोर जीवनमरणको संघर्षको दौरानमै वितेको थियो ।

  लेखक केसी श्री शीतल मावि चौरजहारी रुकुम पश्चिममा विज्ञान विषय अध्यापन गराउनुहुन्छ ।