सरस्वती पुजाको दिनमा यस्ता क्रियाकलाप गर्नाले विद्या बढ्नुका साथै मनोकामना पुरा हुनेछ

धर्म/दर्शन

माघ महिनाको शुक्ल पक्षको पञ्चमीलाई वसन्त पञ्चमी पर्वका रूपमा मनाइन्छ । भोलि बुधवार वसन्त पञ्चमी परेको छ । यो दिन मुख्य रूपमा विद्याकी देवी माता सरस्वतीको पूजा गरिन्छ ।

पूजनविधि
वसन्त पञ्चमीको दिन विधिविधानका साथ देवी सरस्वतीको पूजा गर्दा विद्या र बुद्धिका साथसाथै सफलता पनि पाइन्छ ।

बिहानै उठेर नुहाइसकेपछि पवित्र आचरण र वाणीको संकल्प लिँदै माता सरस्वतीको पूजा गर्नुस् । पूजामा चन्दन, अक्षता, सेतो र पहेंलो फूल, सेतो चन्दन र सेतो वस्त्र देवीलाई चढाउनुस् । प्रसादमा पहेंलो चामल, खीर, दूध, दही, मक्खन, सेतो तिलको लड्डु, घिउ, नरिवल, सक्खर र मौसम अनुसारको फल चढाउनुस् । अनि माता सरस्वतीसँग बुद्धि र सफलताको कामना गरेर घिउको दियो बाल्दै आरती गर्नुस् ।

पढाइमा मन नलाग्ने विद्यार्थीहरूले देवी सरस्वतीको नित्य पूजन गरेमा अतिशीघ्र लाभ पाउँछन् । माताको प्रतिमाअघि उभिएर तल लेखिएका श्लोक उच्चारण गर्दा स्मरण शक्ति बढ्छ अनि सबै मनोकामनाहरू पूरा हुन्छन् ।

सरस्वती स्तुति
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता,
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैस् सदा वन्दिता,
सा मां पातु सरस्वती भगवती निस्शेषजाड्यापहा ।।१।।

शुक्लां ब्रह्मविचारसारपरमाद्यां जगद्व्यापिनीं
वीणा(पुस्तक(धारिणीमभयदां जाड्यांधकारपहाम्।
हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्।।२।।

मूल मन्त्रद्वारा देवी सरस्वतीको पूजा
प्रत्येक देवीदेवताको एक मूल मन्त्र हुन्छ । यही मन्त्रबाट उनीहरूको आवाहन गरिन्छ । यी मन्त्र विशेष रूपमा सिद्ध हुन्छन् । देवी सरस्वतीको अष्टाक्षर बीज मन्त्र हो – श्रीं ह्रीं सरस्वत्यै स्वाहा । देवीको पूजा गर्दा तथा नैवेद्यादि अर्पण गर्दा यस मन्त्रको जाप गर्नुपर्छ । अनि सरस्वती पूजनको समयमा तल लेखिएका श्लोकले भगवतीको ध्यान गर्नुस् :

सरस्वती शुक्लवर्णां सस्मितां सुमनोहराम्।।
कोटिचंद्रप्रभामुष्टपुष्टश्रीयुक्तविग्रहाम्।
वह्निशुद्धां शुकाधानां वीणापुस्तकमधारिणीम्।।
रत्नसारेन्द्रनिर्माणनवभूषणभूषिताम्।
सुपूजितां सुरगणैब्र्रह्मविष्णुशिवादिभि:।।
वन्दे भक्त्या वन्दिता च मुनीन्द्रमनुमानवै:

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

कसरी उत्पन्न भइन सरस्वती माता?
यस्तो मानिन्छ कि, सृष्टि निर्माणका समयमा सर्वप्रथम आदि शक्तिको प्रादुर्वभाव भयो । देवी महालक्ष्मीको आह्वानमा त्रिदेव अर्थात शिव, विष्णु, ब्रम्हाजी उपस्थित भए । त्यसपति देवी लक्ष्मीले तीन देवतालाई आ(आफ्नो गुण अनुसार देवी उत्पन्न गर्नका लागि स्तुती गरिन् । माता लक्ष्मीकी प्रार्थना स्वीकार गरेर तिनै देवले आ(आफ्ना गुण अनुसार देवीको आह्वान गरे । सबैभन्दा पहिला भगवान शिवले तमोगुण महाकाली प्रकट गरे, भगवान विष्णुले रजोगुणवाट माता लक्ष्मीको र ब्रम्हाजीले आफ्नो सत्वगुणबाट देवी सरस्वतीको आह्वान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *