वामपन्थीको दुईतिहाई प्रतिक्रियावादीलाई पचेन : ईश्वर पोखरेल

राजनीति

काठमाडौं । उपप्रधानमन्त्री तथा नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले कम्युनिस्ट पार्टीको दुई तिहाइको हैसियत देशी विदेशी प्रतिक्रियावादीलाई पच्न नसकेको बताएका छन् । उनले भनेका छन्, ‘नेपालमा दुईतिहाईको कम्युनिष्ट सरकार छ । नेकपाको यो हैसियत देशी विदेशी प्रतिक्रियावादीहरुलाई पच्न सकेको छैन । हामीले अत्यन्तै होसियारीपूर्वक सरकार र पार्टीको काम अघि बढाउनुपर्छ ।

पछिल्लो समय कार्यदलको नाममा भइरहेको सांगठानिक एकतामा ढिलाई र सरकारमाथि उठाइएको प्रश्नहरुमा केन्द्रित रही नेता पोखरेलले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले अहिलेको परिस्थिति पचाउन नसक्नेहरु नेकपा र सरकारबिरुद्ध कसरी योजना बुन्न सकिन्छ भन्दै हातमा पुल्ठा लिएर बसेकाले सरकार र पार्टीले आवश्यक सोचीविचारी काम गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

‘होशियारी नीतिमा, कार्यक्रममा, योजनामा र आचरणमा देखाउनु जरूरी छ । आम रूपमा आउने गरेका, उठ्ने गरेका प्रश्नहरू, जिज्ञासा, आशंका र आक्रोशलाई तिनैमार्फत् जवाफ दिनु जरूरी छ,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

स्थानीय तहका सरकार, प्रदेश तहका सरकार र संघीय सरकारमा कम्युनिष्टहरूले लोकतान्त्रिक विधिद्वारा घोषित रूपमा दुईतिहाई हैसियत प्राप्त गर्नुले यसलाई स्पष्ट पारेको तर यसलाई स्वीकार गर्न र पचाउन नसक्ने देशभित्र र बाहिर थुप्रै रहेको उनको भनाई छ । ‘त्यस्ता धेरैको मन मुटु भत्भति पोलिरहेको छ । त्यस्ताहरूले अहिलेको विकसित स्थितिलाई पचाउन सकिरहेका छैनन् र हातमा पुल्ठो बोकेर झोस्न, डढेलो सल्काउन ज्यान फालेर लागेका छन्, पुल्ठो झोस्ने ठाउँहरू खोज्दैछन्,’ उपप्रधानमन्त्री पोख्रेलले लेखेका छन् । लोकपाटीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *